–मनोज पौडेल

म सङ्गीत भने पछि हुरुक्कै हुने मान्छे, त्यसमा पनि सुगम नेपाली सङ्गीतमा हराउन पाए भोक, तिर्खा, काम सबै भुल्छु । कामबाट थकित भएर घर फर्किदाँ जति आनन्द सङ्गीतले दिन्छ,अरु केहीले दिदैन मलाई । म नढाँटी भन्छु मैले बिपुलको नाम नसुनेको भने होइन,कता कता एउटा दुईटा गीत सुनेको थिएँ तर त्यस्तो फलो गरेको थिईनँ । गीत सङ्गीतको कुनै भाषा हुन्न, देश हुन्न र रेखाङ्कन हुन्न । त्यही भएर आज बिश्वलाई एक बनाएको छ त केवल गीत सङ्गीतले बनाएको छ ।
उनि अस्ट्रेलिया आउने खवर आएपछि बल्ल मैले उनका गीतहरु सुन्न थालें । बिस्तारै राम्रो लाग्न थाल्यो । उनको बारेमा फेसवुकमा गाली गरेको पनि हेर्थें भारतीय मूलका, हेनतेन भन्ने गाली ।

तर हामीले यो बिर्सियौं कि उनी जन्मेको देश कुनै बेला नेपाल थियो भनेर । पूर्वमा टिस्टा अनि पश्चिममा काङ्गडासम्म फैलिएको नेपालमा कालिम्पोङ र सिक्किम पनि नेपालको भुमीमा पथ्र्यो भनेर । आज आफ्नो स्वाधीनताको लागि सिक्कीम र दार्जिलिङका नेपालीहरु अझै पनि कटिबद्द भएर लडिरहेका छन् ।

मैले जे भोगें त्यही लेख्दैछु । हालै मेलबर्नमा उनको कार्यक्रम हेर्ने मौका मिल्यो । उनको स्वरमा नेपालीपन थियो, नेपाली माटोको सुगन्ध थियो अनि नेपाली रगत बगेको पाएँ । निर्धारित समय भन्दा केही ढिला शुरु भएको कार्यक्रमले करिब साँढे दुई घण्टा मललगायतका दर्शकलाई बाँध्न सफल भए । उनको गायनशैली, प्रस्तुतीकरण र मौलीकताले म जस्ता धेरै उनका फ्यानहरुलाई बाँध्न सफल भए । लगभग १२ वटा गीत गाएका बिपुलका हरेक गीतमा नेपालको मौलीकता झल्केको आभास भयो । मलाई कता कता मामाघरमा सुनेका पुराना गीतहरू फेरी एकचोटी मेरो कानमा गन्जयमान् भएको भान् भयो । कतै मिसावट थिएन । एकदम कञ्चन र सङ्लो थियो उनको स्वर । सायद यही विशेषता हुनु पर्छ दर्शकको मन जित्नुमा ।
उनको गीतलाई फ्युजन लोक गीत भन्न रुचाउँछु म । सारङ्गीको रयाँई रयाँई अनि टुङ्गनाको टुङ टुङले थप मिठास थपेको थियो । टुङ्गनाको धुनमा “तिमी जाने शिलीगुडी म जाने सिक्कीम तिर“ गाउँदा कता कता मलाई सिक्कीम पुगेको भान भयो । नेपाली ठीटा ठीटीहरु, मायाका पारखीहरुको माया साटासाट गर्ने प्रमुख गन्तब्यस्थल सिक्कीम, दार्जिलीङ अनि कालिङ्पोङ अनि पुराना यादहरुलाई एक चोटी फेरी रिवाईन्ड गरायो ।

समग्रमा भन्नु पर्दा “लै बरी लै“ ले मेरो मन छोयो, मेरो माटोको गन्ध दियो अनि पहरा र छहरालाई नजिकबाट स्पर्स गर्ने मौका दिलायो । बास्तबमा भन्नु पर्दा बसेको ठाउँबाट एक कदमपनि हलचल नगरिकन दुई घन्टा एक शुरले उनका गीतहरुले दर्शकलाई बाँधेर राख्न सफल भए विपुल । त्यही दर्शकको हुलमा रहेको मैले भरपुर आनन्द लिन सौभाग्य पाएँ । आयोजक सोलाङ्चर र चहलपहल मेल्बर्नलाई एउटा उत्कृष्ट कार्यक्रम गरेकोमा धन्यवाद नदिइरहन सक्दिनँ ।

Please follow and like us:

Comments