काठमाडौं । बालबालिकाको ओसारपसार तथा शोषणका लागि काठमाडौं ट्रान्जिट प्वाईन्ट बनेको तथ्य सरकारी निकायबाटै सार्वजनिक भएको छ ।

केन्द्रीय बाल कल्याण समितिले दक्षिण एशियाका मुस्लिम मुलुकका मुस्लिम धर्मावलम्बी बालबालिकलाई फरक धर्म प्रचारकहरुले बाल आश्रमको आवरणमा धर्म परिवर्तन गराउने गतिविधि भइरहेको भन्दै गम्भिर बन्न गृहमन्त्रालयलाई पत्रचार समेत गरेको खुलेको छ ।

केन्द्रीय बाल कल्याण समितिले चर्च, गुम्बा, मदरशा जस्ता स्थानमा बालगृहको आवरणमा बालबालिकामाथि शोषण भइरहेको रिपोर्ट गृहमन्त्रालयमा बुझएको छ । प्रहरी प्रधान कार्यालयले आयोजना गरेको देशभरका महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुखहरुको सम्मेलनमा बाल कल्याण समितिका अध्यक्ष डिल्ली गिरीले बालगृहको आवरणमा बालबालिकाको शोषण तथा अवैध धन्दाहरु भइरहेको भन्दै गम्भीर ढङ्गले अनुसन्धान गर्न प्रहरीसँग आग्रह गर्नुभयो । टुरिष्ट भिसामा आई बालगृहमा बसेर बालबालिकामाथि शोषण भइरहेको तथ्य सहितका रिपोर्ट गृहमन्त्रालयमा पठाईसकेको गिरीले जानकारी दिनुभयो । नेपालमा खोलिएका चर्च, गुम्बा, मदरशा जस्ता धार्मिक स्थलमा बालगृहको आवरण दिई बंगलादेश, पाकिस्तान र अफगानिस्तानका मुस्लिम बालबालिकाको कपाल मुण्डन गरी धर्म परिवर्तन तथा विभिन्न खाले शोषण भइरहेको गिरीको जिकिर छ । बालबालिका माथि भइरहेको शोषणको प्रकृति बारे भने उहाँले प्रष्ट पार्न चाहनु भएन ।

बाल कल्याण समितिका अध्यक्ष गिरीले प्रस्तुत गर्नुभएको रिपोर्ट सुनेपछि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र गृहमन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव यादव कोइरालाले बालबालिकाको अनुसन्धान तथा उद्धारका कारवाहीबारे केही बोल्नु भएन । देशभरका महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुखहरुको शुक्रबारसम्म चल्ने सम्मेलनमा महानिरीक्षक अर्यालले कमजोर ठानेर महिला तथा बालबालिकाको अनुसन्धानमा खटाएको नठान्न महिला प्रहरीलाई आग्रह गर्नुभयो । नारीमा संवेदनशीलता, सावधानी, गोपनीयता र कोमल हृदय जस्ता गुण हुने भएकाले महिला तथा बालबालिकाबारे अपराध अनुसन्धानमा महिला प्रहरीलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो । महानिरीक्षक अर्यालले वरिष्ठ महिला अधिकृतहरुको सुझाव अनुसार अब महिला प्रहरीलाई पनि चुनौतीपूर्ण ठानिने स्थानमा खटाईने प्रतिवद्धता जनाउनुभयो ।

पछिल्लो वर्ष महिला तथा बालबालिकामाथिको हिंसामा २४ प्रतिशतले बृद्धि हुनु दुखद भएपनि कानुनबारे जनचेतनामा बृद्धिदरको प्रतिफल उजुरी बढेको महानिरीक्षक अर्यालको तर्क थियो । अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले महिला तथा बालबालिका मात्र नभई बृद्धबृद्धामाथिको शोषणलाई पनि प्राथमिकता दिन निर्देशन दिनुभयो ।

गृहमन्त्रालयका सहसचिव कोइरालाले ट्रान्जिट होमको अभावमा महिला तथा बालबालिकाको उद्धारपछि कहाँ राख्ने र के खुवाउने भनेर समस्या उत्पन्न हुन थालेकोले बताउनुभयो । तर, ट्रान्जिट होम निर्माणबारे गृहमन्त्रालयको योजनाबारे भने उहाँले केही बताउनु भएन ।

Comments

comments