मेलबर्न । गैरआवासीय नेपाली संघ एनआरएनएले विभिन्न समितिहरुको संयोजक र उपसंयोजकहरु तोकेको छ ।

एनआरएनएको आइतवार सम्पन्न वैठकले उद्योग, लगानी र नेपाल प्रबद्र्धन समितिमा युरोपका क्षेत्रीय संयोजक कुल आचार्यलाई तोकिएको छ भने उद्यमशिलता र उद्योग विकास समितिमा रतनकुमार झा, नेपालको पर्यटन प्रबद्र्धन समितिमा भवन भट्ट संयोजक, महेन्द्र लम्साल र सुरेन्द्र प्रधानलाई उपसंयोजक तोकिएको छ । यस्तै पर्यटन प्रबद्र्धन समितिको पर्वतारोहण र पदयात्रा उपसमितिमा एसी शेर्पा संयोजक तोकिएका छन् भने वैदेशिक रोजगार तथा आप्रवासी कामदार वेलफेयरमा धर्म केसी संयोजक, डीबी क्षेत्री उपसंयोजक तोकिएका छन् । वैठकले परोपकारी र मानवीय सहायता समितिमा उपाध्यक्ष कुमार पन्त संयोजक, नीति तथा प्रक्रिया उपसमितिको संयोजकमा महासचिव डा. बद्री केसी संयोजक, ध्रुव सुवेदी र नारायण काफ्ले उपसंयोजक तोकिएका छन् । यस्तै एनआरएनको आर्थिक सवलीकरण समितिमा हिक्मत थापा संयोजक, सञ्चार तथा प्रकाशन समितिको संयोजकमा प्रवक्ता रञ्जु थापा, विधान संशोधन तथा सल्लाह समितिमा हेमराज शर्मा, अनुशासन समितिमा डा. अम्बिकाप्रसाद अधिकारी संयोजक र सदस्यहरुमा ईन्द्रा वन, दिल गुरुङ, डा. द्रोण रसाईली, मेजर डम्बर घले तोकिएका छन् ।

नेपाली उत्पादनको विदेशमा प्रबद्र्धन समितिमा एनआरएन सचिव अर्जुनकुमार श्रेष्ठलाई संयोजकको जिम्मेवारी दिइएको छ । विधान समितिमा कुलचन्द्र गौतम संयोजक, विश्वकान्त मैनाली र लोकभक्त राना सदस्य तोकिएका छन् । यस्तै स्कील, नलेज एण्ड ईनोभेसन स्की समितिमा डा. राजु अधिकारी संयोजक र डा. प्रमोद ढकाल उपसंयोजक तोकिएका छन् ।
यसैगरी बैठकले विभिन्न टास्कफोर्सहरुको पनि अन्तिम टुंगो लगाएको छ । जस अनुसार वैदेशिक रोजगार सहायता कोषको संयोजकमा अध्यक्ष शेष घले,उपसंयोजकमा श्याम तामाङ र लोक तिवारी रहेका छन् । नेपाली नागरिकताको निरन्तरता प्रोजेक्टमा संयोजक राम थापा र उपसंयोजकमा खगेन्द्र जिसीलाई जिम्मेवारी सुम्पिएको छ । यस्तै पाठेघर खस्ने समस्या सम्बन्धी परियोजना सञ्चालन गर्न संयोजकमा रजनी प्रधान संयोजक र उपसंयोजकमा भुमादेवी लिम्बुलाई जिम्मा दिइएको छ ।

खुला विश्वविद्यालयको संयोजकमा डा. प्रमोद ढकाल, महिला सशक्तिकरण परियोजनाको लागि सपिला राजभण्डारी, सार्वजनिक पुस्तकालय परियोजनाका लागि डा. नरेश कोइरालालाई संयोजकको जिम्मेवारी दिइएको छ । यस्तै बैठकले केही उपसमितिहरुको पनि संयोजक र उपसंयोजकहरु तोकेको छ ।

यसैबीच वैठकले एनआरएनको विवादको टुंगो लगाउने जिम्मा विधान समितिलाई दिने सहमति भएको छ । आइतवार सम्पन्न भएको बैठकमा यस्तो सहमति जुटेको हो । अध्यक्ष शेष घलेले गरेको मनोनयनहरु विवाद परेपछि यसै विषयमा संगठन विभाजित भएको थियो । उपाध्यक्ष कुमार पन्त, महासचिव बद्री केसी लगायतले अध्यक्षले विधान विपरित निर्णयहरु गरेको र पराजितहरुलाई पनि मनोनयन गरेको आरोप लगाउँदै लिखित असहमति जनाएका थिए ।

Comments

comments