काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्कानयुक्त नेपाली र नेपाल नै सरकारको पहिलो प्राथामिकता रहेको बताउनुभएको छ । हरेक नेपालीको मुहारमा खुशी पु¥याउनु नै सरकारको प्रमुख उद्देश्य रहेको प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीले सपना देख्दा कुरा काट्ने गरेको भन्दै नागरिकको खुशी नै सरकारको पहिलो प्राथामिकता भएको बताउनुभयो । सामाजिक सुसम्वन्ध र साँस्कृतिक विविधताले सम्पन्न भए पनि देशले आर्थिक विपन्नता र पछौटेपनाको कारण अन्य मुलुकले जस्तो गति लिन नसकेको स्वीकार्दै अव त्यसो नहुने दावी गर्नुभयो । नेपाल जीवित संग्राहलयको रुपमा रहेको उल्लेख गर्दै उहाँले यहाँका विविधतायुक्त वास्तविकतालाई पहिचान गरेर सँस्थागत रुपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँनुभयो ।

सोमवार काठमाडौमा छैठौं प्राज्ञ सभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मूर्त विकास नै मुलुकको आवश्यक्ता रहेको धारणा राख्नुभयो । कला इतिहास र वर्तमानको प्रतिविम्व मात्र नभएर भविष्यको सूचकसमेत रहेको भन्दै उहाँले सरकार कलामैत्री भएको बताउनुभयो । उहाँँले वर्तमान सरकारको उद्देश्य पनि मुस्कुराएको नेपालीको चित्र कोर्नु रहेको उल्लेख गर्नुभयो ।

अभावको वीचमा मानिसहरुवीच लुछाचुडी हुने बताउदै प्रधानमन्त्री ओलीले सीमित श्रोत र साधनलाई सदुपयोग गर्दै प्रतिष्ठानको माध्यमवाट देशको जर्जर कलाको संरक्षण, विकास र प्रोत्साहनमा लाग्न आग्रह गर्नुभयो ।

Comments