काठमाडौं । मधेसमा दुई प्रदेश बनाउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको प्रस्तावलाई प्रमुख दलका शीर्ष नेताले अस्वीकार गरेका छन् । मोर्चाको ६ बूँदे मागको सम्बोधन हुन नसक्ने भएकोले पूरा गर्न पनि नसक्ने शीर्ष नेताहरुको ठहर छ ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मोर्चाको तर्फबाट आएको दुई प्रदेशको प्रस्तावलाई प्रमुख दलका शीर्ष नेताले अस्वीकार गरेका हुन् । मोर्चाले आइतबार बसेको कार्यदलस्तरीय बैठकमा सहमतिका लागि ६ बुँदे प्रस्ताव राख्दै सीमांकन मिलाउन मधेसी भूगोललाई दुई प्रदेशमा विभाजन गर्नुपर्ने प्रस्ताव अघि सारेको थियो । मोर्चाले राखेका ती ६ बूँदामा सीमांकनको बिषयमा तराई÷मधेस शब्द राख्नुपर्ने, सत्ता, प्रतिपक्षी र मोर्चाको प्रतिनिधित्व रहने संयन्त्रको समय सीमा तोकिनुपर्ने, विगतका विभिन्न आयोग र समितिका प्रतिवेदनलाई सहमतिको आधार बनाइनुपर्ने, प्रान्तलाई राजश्वको अधिकार दिनुपर्ने, मोर्चाको ११ बुँदे अवधारणा स्वीकारेको संवोधनसहितको सरकारको प्रतिवद्धता आउनुपर्ने र व्यवस्थापिका संसदमा रहेको संशोधन प्रसतावलाई मधेसको माग र भावनाअनुसार परिमार्जन गरी बैठकमा पेश गरिनुपर्ने रहेका छन् ।

सोमबार शीर्ष नेताहरुसँग भएको बैठकपछि नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले मोर्चाले मधेसमा दुई प्रदेश बनाउन गरेको प्रस्ताव अस्वीकार गरिएको जानकारी दिनुभयो । उहाँले शीर्षबाट मोर्चाको ६ बूँदे मागको सम्बोधन हुन नसक्ने भएकोले पूरा गर्न पनि नसक्ने जवाफ आएको बताउँनुभयो ।

यस्तै एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मोर्चा र शीर्ष नेताहरुबीच करिब करिब सहमति भइसकेको बताउँदै सहमतिपत्रको मोडालिटी तयार पार्न मात्र बाँकी रहेको बताउँनुभयो । वैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहित प्रमुख तीन दलका शीर्ष नेताहरुको सहभागीता रहेको थियो ।

वैठक मंगलवार पुनः बस्ने भएको छ ।

Comments

comments