काठमाडौ । काठमाडौँ महानगरपालिकाले नक्सा पास गरेर कारणवश घर निर्माण गर्न नसकेकाहरुलाई नक्सा नवीकरणमा विशेष छुटको व्यवस्था गरेको छ ।

महानगरपालिकाले गत फागुन १ देखि यही पुस मसान्तसम्म नक्सा पास गरी एक वर्ष भित्र घर निर्माण गर्न नसकेका नगरवासीको नक्सा नवीकरणमा विशेष छुट दिन लागेको हो ।

गत वैशाखमा गएको भूकम्प र करिब पाँच महिनादेखि निरन्तर रुपमा भइरहेको नाकाबन्दीका कारण भवन निर्माण गर्न नागरिकलाई पर्न गएको समस्यालाई ध्यानमा राख्दै महानगरपालिकाले सो सहुलियत दिएको हो ।

नागरिकको सहजताका लागि नक्सा पास भएको एक वर्षसम्म पनि निर्माण गर्न नसकी दोस्रो पटक पास गर्नुपरेमा जम्मा लाग्ने रकमको पाँच प्रतिशतमात्र लिएर नक्सा पास गरिने व्यवस्था गरेको महानगरपालिकाले जनाएको छ ।
यो व्यवस्था एक वर्षका लागि मात्र लागू हुनेछ । नियमअनुसार नक्सा पास गरेको एक वर्षभित्र कुनै पनि नागरिकले नक्साअनुरुपको भवन निर्माण गरिसक्नुपर्ने व्यवस्था छ ।

महाशाखा प्रमुख रामबहादुर थापाका अनुसार निर्माणका लागि पास भएका नक्साअनुसार ५० प्रतिशतले पनि निर्माणको काम गरेका छैनन् । जसको प्रमुख कारण भारतले गरेको अघोषित नाकाबन्दीले गर्दा भएको निर्माण सामग्रीको अभाव नै हो ।

गत फागुनदेखि यही पुस मसान्तसम्ममा महानगरपालिकामा झन्डै दुई हजारको हाराहारीमा नक्सा पास भएको छ ।

भूकम्पको समयमा पूर्णरुपमा क्षति भएका महानगरको ३५ वटा वडाको घर निर्माणका लागि ७५ प्रतिशत छुटमा नक्सा पास हुने व्यवस्थासमेत गरेको छ ।

Comments