मेलबर्न । पछिल्लो समय पानीमा डुबेर एकपछि अर्को नेपालीहरुको ज्यान जान थालेकोप्रति अष्ट्रेलियाका सरोकारवाला नेपाली निकायहरुले गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

अष्ट्रेलियाको भिक्टोरिया राज्यका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले पछिल्लो समयमा पानीमा हुने दुर्घटनाका कारण नेपालीले ज्यान गुमाएकोमा गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । महावाणिज्यदुतको कार्यालयको तर्फबाट एक विज्ञप्ति प्रकाशित गर्दै योञ्जनले गत आइतबार भिक्टोरियाको फिलिप टापुमा भएको दुर्घटनामा २७ वर्षीय नेपाली युवाले ज्यानु गुमाउनु र त्यसअघि लगातारजस्तो विभिन्न समयमा न्यूसाउथवेल्स, क्वीन्सल्याण्ड र न्यूजिल्याण्डमा गरी नेपालीहरुले ज्यान गुमाएका घटनाले पानीमा अपनाउनुपर्ने सावधानीमा विशेष ध्यान दिनुपर्ने आवश्यक्ता आइपरेको बताउनुभएको छ । यसअघिका तीनवटै घटना डिसेम्बर महिनाभित्रै भएका थिए ।

उहाँले विज्ञप्तिमा समुद्रमा जाँदा केही पूर्वसतर्कता अपनाउँन केही बूँदागत सुझावहरु समेत दिनुभएको छ । जस अनुसार तोकिएको स्थान र लाईफगार्डहरुको सुपरिवेक्षणबाहेकका क्षेत्रमा पौडी नखेल्ने, खतराका सूचक झण्डाहरु र लाईफगार्डले दिएका निर्देशनहरुलाई पालना गर्ने, अनुगमन गरिएको समय बाहेक अन्य समयमा पौडी नखेल्ने, पानीमा जाँदा मद्यपान आदि नगर्ने, पानीमा गएर सेल्फी लिने, फोटो खिच्ने आदि काम नगर्ने लगायतका सुझाव दिइएको छ ।

यसैगरी विज्ञप्तिमा समुद्री तटमा राखिएका सूचक बोर्डहरुको पालना गर्ने, छालहरुबाट सावधान रहने र पौडी खेल्नुअघि लाईफ गार्डहरुसँग त्यहाँको छालका विषयमा जानकारी लिने, छालमा परिहालेको अवस्थामा पनि अत्तालिने काम नगर्ने, शान्त रहेर सकेसम्म छिटो सहयोग प्राप्त गर्नका लागि संकेत गर्ने, छालसँगै बग्न कोसिस गर्ने ताकि यसले किनारामा फर्काइदेओस्, समुद्री तटमा रहेको बेला सुरक्षाका संकेतहरुलाई ध्यान दिने र सही सूचना लिने प्रयास गर्ने आदि रहेका छन् ।

महावाणिज्यदूत योञ्जनले पानीमा जाँदा निश्चित पूर्वसतर्कता अपनाउन सक्ने हो भने दुर्घटनाको समाचार बन्ने खतराबाट बच्न सकिने अवस्था रहेको पनि विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । तर, सानातिना कमजोरीले गर्दा नेपाली समूदायका सदस्यहरुको पछिल्लो समयमा दुर्घटनामा पर्ने क्रम बढ्दै गएकोमा विज्ञप्तिमा चिन्ता व्यक्त गर्दै अझै बढी पूर्वसतर्कताको लागि आह्वान गरिएको छ ।

Photo:MNTV

Comments