काठमाडौँ । तातोपानी–खासा र रसुवागढी–केरुङ सडक खण्डलाई ‘ग्रीन इकोनोमिक करिडोर’ का रुपमा विकास गरिने भएको छ । यसमा आवश्यक सहयोग गर्न नेपालले गरेको प्रस्तावमा चीनले पनि सहमती जनाएको छ।

चीनका वन मन्त्री झाङ जिनलोङसँग बुधबार बेइजिङमा भएको भेटवार्तामा वन तथा भूसंरक्षण मन्त्री अग्नि सापकोटाले तातोपानी र रसुवागढी सडक खण्ड स्तरोन्नती गर्ने क्रममा वातावरणीय प्रभावलाई न्यून गर्न यसलाई ‘ग्रीन इकोनेमिक करिडोर’ का रुपमा विकास गरिनु पर्ने प्रस्ताव राखेका थिए। यो प्रस्तावप्रति सकारात्मक हुँदै चीनले दुई पक्षीय टोली गठन गरी सम्भाव्यता अध्ययन अघि बढाउन सहमति जनाएको हो।

नेपाल र चीनका वन मन्त्रीले वन तथा जैविक विविधता संरक्षण क्षेत्रमा पारस्परिक सहयोगबारे विस्तृत छलफल गरेका छन्। चीनको वन मन्त्रालय (स्टेट फरेष्ट्री एड्मिनिस्ट्रेसन) को निमन्त्रणामा मन्त्री सापकोटाको नेतृत्वमा बेइजिङ गएको वन तथा भूसंरक्षण मन्त्रालयको सात सदस्यीय प्रतिनिधिमण्डलले बुधबार बिहान सहकार्यबारे छलफल गरेको हो। दिउँसो मन्त्री सापकोटा र चीनका वन मन्त्री झाङबीच करिब दुई घण्टा वार्ता भएको थियो।

चीनले भक्तपुरको सूर्य विनायकमा स्थापना गरिने प्राणी उद्यान तथा वन्यजन्तुको अनुसन्धानमा सहयोग पु¥याउन स्थापना गरिने विधि विज्ञान प्रयोगशालाका लागि नेपाललाई आर्थिक तथा प्राविधिक सहयोग गर्ने सहमती जनाएको छ। सामुदायिक वन व्यावस्थापनमा विश्वमै अग्रणी मानिएको चीनले नेपालमा सामुदायिक वन अन्तर्राष्ट्रिय केन्द्र स्थापना गर्न सहयोग गर्ने मन्त्री सापकोटाले बताए।

Comments

comments