काठमाडौं । काठमाडौंमा यतिखेर अष्ट्रेलियन एडुकेशन मेलाको होडबाजी चलेको छ । नेपाली विद्यार्थीहरुको प्रमुख गन्तव्य बन्दै आएको अष्ट्रेलिया जाने योजनामा रहेका विद्यार्थी र तिनका अभिभावकहरुलाई आवश्यक परामर्श प्रदान गर्ने उदेश्यले काठमाडौंमा एकै पटक तीन भन्दा बढी स्थानमा अष्ट्रेलियन एडुकेशन सम्बन्धी मेला हुने भएका छन् ।

इभेन्टस् एण्ड म्यानेजमेन्ट सोलुसन्सको आयोजनामा यही जनवरी १५ र १६ मा दुई दिने अष्ट्रेलिया न्यूजिल्याण्ड एडु फेयर २०१६ हुँदैछ । होटल अन्नपूर्णमा विहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने उक्त एडु फेयरमा अष्ट्रेलिया र न्यूजिल्याण्डका विभिन्न कलेज र विश्वविद्यालयमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई आवश्यक परामर्श दिइनेछ । सो अवसरमा विभिन्न विश्वविद्यालयहरुका तर्फबाट प्रेजेन्टेशन समेत गरिनेछ ।

यस्तै होटल अन्नपूर्णमै आगामी सोमवार अर्थात जनवरी १८ मा छुट्टै अष्ट्रेलियन एडुकेशन एक्जिविसन हुँदैछ । ग्लोबल एडुकेसन सर्भिसले आयोजना गर्न लागेको उक्त एक्जिविसनमा अष्ट्रेलियाका विभिन्न राज्यहरुमा रहेका कलेज र विश्वविद्यालयहरुबारे आवश्यक जानकारी र परामर्श दिइनेछ ।

जनवरी १६ अर्थात आउँदो शनिवार नै एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजको आयोजनामा होटल र्याडिसनमा अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि निशुल्क सेमिनारको आयोजना गर्दैछ ।

Comments

comments