मेलबर्न । तामाङ समुदायको नयाँ वर्ष तथा महान सांस्कृतिक पर्व ल्होछार २८५२ को अवसरमा विगतको वर्षमा जस्तै अष्ट्रेलियाको मेलबर्नमा पनि डम्फू र सेलो घन्किने भएको छ ।

हरेक वर्ष ल्होछारको अवसरमा आयोजना हुँदै आएको डम्फू साँझमा यसपटक नेपालबाट सेलो गीतकी रानी अर्थात सेलो क्वीनका रुपमा परिचित वरिष्ठ गायिका इन्दिरा गोलेसँगै अर्का ठट्यौला र रसिक गायक प्रेम लोप्चनको पनि प्रस्तुति रहनेछन् । तामाङ कलाकार संघका अध्यक्ष समेत रहेकी गायिका गोलेको तामाङ,सेलो र लोक दोहोरी गरी पाँच हजार भन्दा गीतहरु रेकर्ड भैसकेका छन् भने दर्जनौं एल्वमहरु प्रकाशित छन् । उनी विगत तीन दशकदेखि संगीत क्षेत्रमा क्रियाशील रहँदै आएकी छिन् भने विदेशमा हुने कार्यक्रमहरुमा उनको डिमाण्ड समेत निकै हुने गरेको छ ।

यस्तै प्रेम लोप्चन मूलतः नृत्य निर्देशक हुन् । लामो समयसम्म नेपाल प्रहरीका नृत्य निर्देशक भएर अवकाश पाएका लोप्चन उनको ठेट शैलीका सेलो गीतका लागि बढी लोकप्रिय छन् । पछिल्लो पटक हम्माइ लिला खैलाला नामक गीतबाट निकै जमेका गायक लोप्चन मिजासिलो व्यक्तित्वका कारण सबैका प्रिय बन्दै आएका छन् । उनले अमेरिका,युके,जापान,यूरोप लगायतका एक दर्जन बढी मुलुकहरुमा आफ्नो सांगीतिक प्रस्तुति दिइसकेका छन् ।

तामाङ समाज भिक्टोरियाले तामाङ समुदायमा मात्र होइन नेपाली संगीत क्षेत्रकै अत्यन्त लोकप्रिय यी दुई हस्ती कलाकारहरुको साथमा मेलबर्नमा डम्फू साँझ २८५२ को आयोजना गर्न लागेको हो । टे ल्होको अवसरमा आगामी फेब्रुअरी ७ तारिख आइतवारका दिन थनबरी थियटरको हलमा हुने डम्फू साँझमा स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहनेछ भने लामा गुरुहरुबाट पूजापाठ र मोलाम प्रदान गर्ने कार्यक्रम समेत रहनेछ ।

नेपाली र तामाङ खानाको विशेष स्टल समेत रहने डम्फू साँझमा हिमालयन कङ्गारुले अफिसियल मिडिया पार्टनरको रुपमा सहकार्य गर्दैछ ।

Comments

comments