–रिया भण्डारी ,काठमाडौं । बेवारिसे तथा असाहाय बिरामीको उपचार गर्न सरकारले छुट्टै बजेटको व्यवस्था गरेको छ । स्वास्थ्य मन्त्रालय जनसंख्या महाशाखा अन्तर्गतको लैंगिक समानता र सामाजिक समाबेसीकरण एकाइले बेबारिसे विरामीको उपचार गर्न तीनवटा केन्द्रीय अस्पताल सहित ८ वटा क्षेत्रीय अस्पताललाई बजेट उपलव्ध गराउँदै आएको छ । तर बजेट भन्दा बढी गरिब असहाय र वेवारिसे बिरामी आउने गरेको कारण सामाजिक इकाइ कोषले धान्न नसक्ने अवस्था रहेको अस्पतालहरुले बताएका छन् ।

भक्तपुर सूर्य विनायकबाट आएका १०० वर्षीया सरस्वती डोटेलको अहिले बीर अस्पतालमा उपचार भैरहेको छ । तर उनको हेरविचार गर्ने आफन्त मात्र होइन उनीसँग उपचार गर्ने खर्च समेत छैन । त्यसैले अहिले उनको उपचार अस्पतालको सामाजिक इकाई कोषको रोहवारमा भैरहेको छ । यस्तै काभ्रे जिल्लादेखि आएका हरिवहादुर तामाङले पनि विरामी फूपुलाई वीर अस्पतालमै उपचार गराइरहेका छन् । कमजोर आर्थिक स्थिति भएका उनी पनि बिरामीको उपचार गर्ने खर्च नभएर विचलित बनिरहेका छन् ,तर अस्पतालमा उपचारमा पहुँच नहुनेलाई सरकारले सामाजिक सहयोग इकाई खोलेको छ भन्ने आफूलाई थाहा नभएको उनले बताए ।

गरिब असहाय र बिबारिसे बिरामीको लागि भन्दै सरकारले बर्षेनी ठूलो बजेट छुट्याउँदै आएको छ । यसमा विभिन्न दातृ निकायहरुले समेत सहयोग गर्दै आएका छन् । तर त्यस्ता विरामीहरुको उपचारका लागि ऋण खोज्दै भौंतारिन पर्दैन र सरकारले नै उपचार गरिदिन्छ भन्ने धेरै नागरिकलाई थाहा छैन । सरकारले अहिले ३ वटा केन्द्रिय अस्पताल र ८ वटा क्षेत्रीय अस्पतालमा गरिब असहाय अपाङ्गता भएका, जेष्ठ नागरिक र बेबारिसे बिरामीको उपचारको लागि भन्दै बजेट उपलब्ध गराउदै आएको छ । तर सरकारले बीर अस्पतालको सामाजिक इकाई लाई छुट्याइएको बजेट बिरामीको अनुपातमा पर्याप्त नभएकोले सेवा प्रदान गर्न आपूुहरुलाई कठिन भएको अस्पतालको गुनासो छ ।

बिर अस्पताल इमर्जेन्सी डिपार्टमेन्ट का चिकित्सक डा.न्हुच्छे डंगोलका अनुसार अस्पताल आउने बेवारिसे बिरामीलाई सरकारले सामाजिक सेवा इकाई मार्फत उपचार को सेवा भनेको भए पनि उनीहरुको स्वास्थ्य उपचार राम्रो संग गर्न नसकेको बताए ।

सरकारले एकातिर स्वास्थ्य बिमाको कुरा गरिरहेको छ भने अर्कोतिर विद्यमान व्यवस्थाहरुलाई नै व्यवस्थित र प्रभानवकारी बनाउँन सकिरहेको छैन । कतिसम्म भने सामाजिक इकाईबाट गरिब असक्त र बेवारिसे बिरामीको उपचारका लागि हरेक वर्ष ठूलो मात्रामा सरकारी बजेट छुट्याएको हुन्छ भन्ने खबरबाट समेत धेरै नागरिक अझै बेखबर छन् । यसले गर्दा कतिपय असाहाय,गरिब र बेवारिसे विरामीहरुले मृत्युवरण समेत गरिरहेका छन् ।

Comments

comments