भक्तपुर । राजधानीकै एउटा जिल्ला भक्तपुरको अस्पतालमा समेत चिकित्सक अभाव भएको छ ।

भक्तपुर अस्पतालमा दरबन्दी अनुसारको डाक्टर नहुँदा उपचारमा समस्या भएको छ । सरकारले केन्द्रीय अस्पतालको रुपमा परिभाषित गरेपनि क्षेत्रीय अस्पताल सरहको सुविधा समेत दिएको छैन ।

अस्पतालका सुपरिटेण्डेन डा. हरिबहादुर केसीका अनुसार भक्तपुर अस्पतालमा अहिले ११ औं तहको फिजिसियन एक जना, ११ तह कै प्रसुती रोग विशेषज्ञ एक जना, नौ तहको छाला रोग विशेषज्ञ एक जना, दन्त रोग विशेषज्ञ एक जना, नौ तहको नाक, कान, घाँटी रोग विशेषज्ञ एक जना, मानसिक रोग विशेषज्ञ एक जना, रेडियोलोजिष्ट एक जना, अर्थोपेडिक एवं हाड जोर्नी रोग विशेषज्ञ एक जना र सातौं तहका दुईजना नर्सको दरबन्दी रिक्त छ ।

बिरामीको चाप बढेपछि अस्पतालले पेइङ क्लिनिक, अस्पताल विकास समितिबाट नियुक्त भएको चिकित्सकबाट मुटु रोग, सर्जरी सेवा सञ्चालन गरेको छ । रिक्त दरबन्दीमा पदपूर्ती भएमा भक्तपुर र अन्य जिल्लाबाट आउने बिरामीलाई अरु अस्पतालमा रिफर गर्नु नपर्ने अस्पतालका सुपरिटेण्डेन डा. केसीले बताउनुभयो ।

अस्पतालका प्रशासन प्रमुख विश्वप्रसाद न्यौपानेले निजी अस्पतालमा १५ देखि ५० हजारसम्म खर्च लाग्ने सर्जरी सेवा अस्पतालले एक हजारदेखि सात हजारसम्ममा दिन थालेपछि बिरामीको चाप बढेको बताउनुभयो ।

भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष नवराज गेलालले सरकारले केन्द्रीय अस्पताल भने पनि त्यो अनुसारको सेवा सुविधा नदिँदा अस्पताल सञ्चालनमा कठिनाई भएको बताउनुभयो ।

Comments