काठमाडौं । तराईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनलाई अझै सशक्त बनाउने निर्णय गरेको छ ।

शनिबार राजधानीमा बसेको मोर्चाको बैठकले यथास्थितीमा वार्ताबाट माग सम्बोधन नहुने निष्कर्ष निकाल्दै आन्दोलनलाई अझै सशक्त पार्ने निर्णय गरेको हो ।

आन्दोलनका मुद्दाहरुलाई सम्बोधन गर्नुको सट्टा सरकारले सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको परिचालन गरी मधेश र थरुहटमा राज्य आतंकको सृजना गर्ने कार्य जारी राखेको भन्दै मोर्चाले त्यसको घोर भर्त्सना समेत गरेको छ । ‘जनताको बढ्दै गएको कष्टकर जीवन र विभिन्न कठिनाइका बावजूद विभेदबाट उन्मुक्तिको लागि संघर्षको विकल्प नभएकोले जारी आन्दोलनलाई अझ प्रभावकारी र सशक्त जनसंघर्षको रुपमा अगाडि बढाउन शान्तिपूर्ण संघर्षका नयाँ कार्यक्रम सार्वजनिक गर्दछौं,’ मोर्चाद्धारा जारी विज्ञप्तिमा भनिएको छ– ‘साथै मधेशी, थारु, आदिवासी जनजाति, मुश्लिम, दलित, उत्पीडित खस, सीमान्तकृत समुदाय लगायत सम्पूर्ण आन्दोलनकारी दाजुभाई दिदीबहिनी तथा आम नागरिकलाई जारी आन्दोलनमा पूर्ववत् सक्रिय सहभागिता तथा समर्थन गर्न अपील गर्दछौं ।’

यस्ता छन् मोर्चाको आन्दोलनका नयाँ कार्यक्रमः

क. २०७२ पौष २८ गते मंगलबार प्रत्येक जिल्ला सदरमुकाममा विशाल जुलूस प्रदर्शन एवं विरोध
सभा गर्ने,
ख. २०७२ पौष ३० गते बिहिबार जिल्ला सदरमुकाम तथा प्रमुख शहरहरुमा आन्दोलनका क्रममा
सरकारद्धारा गरिएका हिंसा हत्या एवं दमन सम्बन्धी फोटो, चित्र तथा वृत्तचित्र प्रर्दशन गर्ने,
ग. २०७२ माघ २ गते शनिबार जिल्ला सदरमुकाममा विरोध स्वरुप विशाल लाठी जुलूस प्रदर्शन एवं
सभा गर्ने,
घ. २०७२ माघ ४ गते सोमबार जिल्ला सदरमुकाममा भेला भई विशाल मशाल जुलूस प्रदर्शन एवं सभा गर्ने,
ङ. २०७२ माघ ५ गते मंगलबार जिल्ला सदरमुकामहरुमा मधेश आन्दोलनका दौरानमा शहादत प्राप्त
गर्नुहुने वीर शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न भव्य रुपमा बलिदानी दिवस मनाउने,
च. २०७२ माघ ७ गते गाउँ/नगर/क्षेत्रहरुको चोक चौराहामा विरोध सभा गर्ने,

– विरोधका यी कार्यक्रमहरुका अतिरिक्त आन्दोलनका जारी अन्य कार्यक्रमहरु निरन्तर रुपमा यथावत नै रहनेछ ।

press-release-of-morcha-25-paush

press-release-2-of-morcha-25-paush

Comments

comments