काठमाडौं । उपचारको बहानामा नयाँ दिल्लीमा रहेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच दिल्लीमा भेटवार्ता भएको छ ।

शनिवार विहान भारतीय विदेश मन्त्रालयमा भएको भेटवार्तामा महतोले मधेस आन्दोलन, नाकाबन्दी र सरकारसँग चलिरहेको वार्ताबारे स्वराजसँग छलफल गरेका छन् । छलफलपछि विदेशमन्त्री स्वराजले सरकार र मोर्चाबीचको वार्ता र निरन्तर समन्वयबाट अहिलेको गतिरोध हट्ने विश्वास व्यक्त गरिन् ।

उनले वार्ताबाटै समाधान खोज्न महतोलाई सुझाव दिईन् । तर, महतोले भने माग सम्बोधन नभए अझै आन्दोलन सशक्त पार्ने चेतावनीसहितको जानकारी स्वराजलाई गराए ।

महतोका एक नेताका अनुसार नाका अवरोध हटाउन महतो सकारात्मक देखिएनन् । उल्टै सरकारले मागको सुनुवाइ नगरे नाकामा झनै कडा अबरोध गर्ने बताए ।

भेटवार्तामा भारतीय विदेश सचिव एस जयशंकर र नेपाल डेस्क प्रमुख सहसचिव अभय ठाकुर पनि उपस्थित थिए ।

Comments

comments