काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी घटाउने भएको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको र खरिद दर पनि घटेकाले निगमले इन्धनको मूल्य घटाउने तयारी गरिएको हो ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएपछि मूल्य घटाउँने निगमको तयारी छ । आइओसीले आगामी १७ जनवरी अर्थात माघ ३ गते निगमलाई तेलको नयाँ मूल्यसूची पठाउँदै छ ।

आइओसीबाट नयाँ खरिद दर पाएपछि प्रतिलिटर न्यूनतम ४ र अधिकतम् ५ रुपैयाँसम्म मूल्य समायोजन गर्ने गरी निगमले तयारी गरेको हो । आइओसीले निगमलाई महिनाको दुईपटक १ र १६ तारिखमा मूल्यसूची पठाउने गरेको छ । यसपटक १६ जनवरी अर्थात २ माघ मा शनिबार पर्ने भएकाले आइओसीले १७ जनवरी अर्थात ३ माघ मा नयाँ मूल्यसूची पठाउनेछ । त्यसपछि निगमले माघ पहिलो साताभित्रै मूल्य घटाउनेछ । आइओसीले १५ दिनको औसत मूल्यलाई आधार मानी निगमलाई नयाँ मूल्यसूची पठाउने गरेको छ ।

जनवरीको सुरुबाटै कच्चा तेलको मूल्यमा निरन्तर गिरावट आएकाले नयाँ खरिद दर स्वाभाविक रूपमा घटेर आउनेछ । आइओसीबाट खरिद दर घटेर आउने अनुमानकै आधारमा निगमले मूल्य घटाउन लागेको निगमले जनाएको छ ।

प्रतिलिटर ४ रुपैयाँ घटाए पेट्रोल एक सय रुपैयाँ र डिजेल एवं मट्टीतेल ७८ रुपैयाँमा झर्नेछ । निगमले गत भदौ १५ देखि मूल्य समायोजन गरेको छैन ।

Comments

comments