काठमाडौं । मुलुकको धरोहरका रुपमा रहेको सम्पदास्थलको पुननिर्माणमा पनि भेदभाव,त्यही पनि स्वयम् सरकारबाटै ? सुन्दा अनौठो लागे पनि यस्तै भेदभावको नमीठो अनुभव काठमाडौंस्थित बौद्धनाथ क्षेत्र विकास समितिका पदाधिकारीहरुले गरेका छन् । बैशाख १२ गतेको महाविनाशकारी भूकम्पले भत्काएका सम्पदास्थलहरुको चाँडै पुनर्निमाण गर्ने भनिएपनि बौद्धनाथ स्तुपाको पुननिर्माणमा सरकारले कुनै चासो नदिएको समितिको गुनासो छ । तर सरकारको उदासीनतापछि समिति आफैंले अहिले युनेस्को विश्व सम्पदास्थलमा सूचीकृत बौद्धनाथ स्तुपको पुननिर्माण स्वस्फूर्त रुपमा जारी राखेको छ ।

बौद्ध मार्गीहरुको आस्थाको धरोहर मात्र होइन मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहँदै आएको काठमाडौंस्थित बौद्धनाथ स्तुपलाई पनि वैशाख १२ को विनाशकारी भूकम्पले अछुतो छोडेन । भूकम्प गएको झण्डै नौ महिना पूरा भए । यसबीचमा सरकारले पुननिर्माण कार्य पनि अगाडि बढाए । तर बौद्धमार्गीहरुको आस्थाको धरोहर विश्व सम्पदा सूचीमा समेत सूचिकृत बौद्धनाथ स्तुपको पुनर्निमाणमा भने सरकारले खासै चासो नदेखाएर भेदभाव गरेको बौद्धनाथ क्षेत्र विकास समितिको गुनासो छ । पर्यटन क्षेत्रका प्रमुख आर्थिक श्रोत मानिएका सांस्कृतिक सम्पदाहरुको पुननिर्माण गर्ने बताएको सरकारले बौद्धनाथ स्तुपको पुननिर्माणमा भने पूरै वेवास्ता गरेको समितिको आरोप छ ।

बौद्धनाथ स्तुपको पुनर्निमाणमा सरकारले कुनै वास्ता नगरेपछि बौद्धनाथ क्षेत्र विकास समिति आफैंले पुनर्निमाण कार्य थालेको छ । आफनो संस्कृति र पहिचान जोगाउन स्तुपको छिट्टै पुनर्निमाण सम्पन्न गर्ने गरी काम अगाडि बढेको बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक फुबुयाङजी लामाले बताउनुभयो । उहाँले भुकम्पले भत्काएका अन्य सांस्कृतिक सरंचना एंव भवनहरुलाई भत्काउन र बनाउने कार्यमा राज्यका सेना र प्रहरीलाई परिचालन गरेको तर आफुहरुलाई भने कुनै सहयोग प्राप्त नभएको आरोप लगाउनुभयो ।

कार्यकारी निर्देशक लामाले बौद्धनाथ स्तुपको पुनर्निमाणमा सरकारले सघाउने आशामा थुप्रै महिना बसेपनि सरकारबाट कुनै पहल नहुने देखेपछि बौद्धनाथ क्षेत्र विकास समिति स्वंय लागेको बताउनुभयो । उहाँले बौद्धनाथ स्तुा देशको पर्यटन क्षेत्रको मुख्य आर्थिक श्रोत समेत भएपनि सरकारले कुनै वास्ता नगरि भेदभाव गरेको दोहोर्याउँनुभयो ।

बाहिरबाट हेर्दा केहि नभएको जस्तो देखिएपनिे बौद्धनाथ स्तुपको अवस्था निकै नाजुक रहेकोले चाँडै पुननिर्माणमा लाग्नुपरेको लामाको दाबी छ । त्यसैगरी बौद्धमार्गीहरुको आस्थाको धरोहरलाई पुनर्जीवन दिने उदेश्यले हाल स्वस्फूर्त रुपमा बौद्धनाथ स्तूपको पुननिर्माण कार्य द्रुत गतिमा अगाडि बढाइरहेको समितिले जनाएको छ । बौद्धनाथ क्षेत्र विकास समितिका अनुसार बौद्धनाथ स्तूपको पुननिर्माणका लागि करिब १८ करोड रुपैयाँ लाग्ने प्रक्षेपण गरिएको छ ।

हाल धमाधम पुननिर्माण कार्य भैरहेको स्तूपको सम्पूर्ण पुननिर्माण कार्य आगामी एक बर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । १४ औं शताब्दीमा निर्माण गरिएको बौद्धनाथ स्तुप बौद्धमार्गीहरुको आस्थाको प्रमुख धरोहरका रुपमा रहँदै आएको छ भने यो नेपालका प्रमुख आदिवासी तामाङ समुदायको संस्कृति र इतिहाससंग पनि जोडिएको छ ।

Comments

comments