विशेष । भारतीय पक्षले पूर्वको कांकडभिट्टा—पानीटं्याकी नाकालाई खुकुलो गरेपछि बुधबारबाट पूर्वी नाका सहज बन्दै गएको छ । भारतीय पक्षले एकाएक मालबाहक ट्रक तथा कन्टेनर छाडिदिँदा नेपालतर्फ मालवाहक गाडीको आवगमन ह्वातै बढेको छ ।

मंसिरदेखी पेट्रोलियम पदार्थका ट्यांकर र ग्याँस बुलेटलाई भारतीय पक्षले कुनै अवरोध नगरेपनि ट्रक तथा कन्टेनरहरुको आवगमन भने सामान्य बन्न सकेको थिएन । भारतको नाकाबन्दीले अस्तव्यस्त यो नाका बुधबार विहानैबाट सहज बनेपछि मेचीपारी पानीटं्याकीमा लामबद्ध सयौं मालबाहक गाडी नेपाल भित्रिएका छन् । मेची भन्सार कार्यालयका अनुसार बुधबार साझँ सम्म यो नाकाबाट १६ वटा इन्धनका गाडी र ३ सय ६१ मालबाहक ट्रक तथा कन्टेनर भित्रिएका छन् । यो नाकाबाट मंगलबार र बुधबार नाकाबन्दीयताकै सर्वाधिक गाडी भित्रिएका हुन् । मंगलबार रातिसम्ममा मात्रै ४ सय ७ वटा मालवहाक ट्रक तथा कन्टेनरहरु नेपाल भित्रिएका थिए । गाडीको अत्याधिक फ्लोले पार्किङ गर्न समस्या भएपछि भन्सार कार्यालयले पार्किङका लागि प्यारिभिट्टास्थित नयाँ बसपार्क क्षेत्रमा व्यवस्थापन गरिएको र त्यहीबाट भन्सार सेवा समेत गर्ने प्रवन्ध मिलाइएको मेची भन्सार कार्यालयका प्रमुख भीम प्रसाद अधिकारीले बताउनु भयो ।

भन्सार प्रमुख अधिकारीले भारततर्फ पानीटं्याकी क्षेत्रमा अझैं २० वटा कन्टेनर र २ सय वटाको हाराहारीमा मालबाहक गाडीहरु रहेकोले विहीबार सम्ममा ती गाडीहरु नेपाल प्रवेश गर्ने जानकारी दिनुभयो । यो नाकाबाट इन्धन, सुपारी, क्लीकंर, कोइला यसैगरी बंगलादेशबाट जुस र गार्मेन्ट लगायतका सामान आयात हुन्छ भने नेपालबाट कृषि उत्पादन अमृसो, चिया लगायतका सामान निर्यात हुने गरेको छ ।

बेलहिया नाकाबाट पनि खुरुखुरु 

नाका सहज हुदै गए पछि भैरहवा स्थित बेलहिया नाकाबाट वितेको तीन सातामा डिजेल पेट्रोल,एलपीजी ग्यास बुलेट र मटितेल गरी ५ सय ५५ ट्यांकर तथा कन्टेनर नेपाल भित्रिएका छन । भारतको नाकाबन्दी सुरु भएको तिन महिना पछि अहिले आएर सबैभन्दा बढी परिणाममा इन्धन र ग्यासहरु यही नाका हुँदै नेपाल भित्रिएका छन् ।

अन्य समयमा भन्दा अहिले भैरहवाको बेलहिया नाका धेरै सहज भए पति यँहाबाट हुने आयात निर्यात अहिले दिनहुँ बढेको छ । नाका सहज हुदै गए पछि बेलहियाबाट पछिल्लो तीन सातामा डिजेल पेट्रोल,एलपीजी ग्यास बुलेट र मट्टितेल गरी करीब ५ सय ५५ ट्यांकर तथा कन्टेनर नेपाल भित्रिएका छन् । सीमावर्ति भारतीय बजारबाट अहिले बिगतमा भन्दा निकै सहज रुपमा इन्धन,ग्यास तथा मालबाहक ट्रकहरु भित्रिरहेका छन् ।

ईलाका प्रहरी कार्यालय बेलहियाका इन्चार्ज एबं प्रहरी निरीक्षक अभय बिक्रम शाहका अनुसार पुस १ गते बाट २१ पुस सम्म २ सय ५५ टयांकर डिजेल, २ सय ४१ वटा एलपीजी ग्यास बुलेट,पेट्रोल ५४ ट्यांकर र मट्टितेल ५ ट्यांकर भित्रिएको हो । बिगत दुई साता देखि बेलहिया नाका अत्यन्त सहज बनेको छ ।

नाका सहज बन्दै जाँदा भैरहवा भन्सार कार्यालयबाट हुने आयात निर्यात पनि बढदै गएको छ । अन्य सामानहरु संगै उद्योगका कच्चा पदार्थ एबं इन्धन र ग्यास भित्रने क्रम समेत बढदै गएको छ । बीरगन्ज नाका अझै नखुल्दा त्यहाँबाट हुने आयात अहिले सबै भैरहवा मार्फत हुन थालेको छ । इन्धन देखि ,साना सवारी साधन र कोलकाता बन्दरगाह हुँदै आउने सामानहरु पनि अहिले बेलहिया नाका हुदै आउन थालेको छ ।

Comments

comments