पोखरा । नयाँ शक्ति निर्माण अभियानका संयोजक डा. बाबुराम भट्टराईले नयाँ शक्ति निर्माणअन्तर्गत पहिलो चरणको प्रचारात्मक अभियान सकिएकाले अब अन्तरिम संरचना निर्माणमा लाग्ने बताउनुभएको छ ।

पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलनमा डा. भट्टराईले पहिलो चरणमा सम्बन्ध विस्तारको प्रचारात्मक अभियान सकिएकाले माघ लागेपछि बिभिन्न पक्षसँगको छलफलमा अन्तरिम सांगठनिक संरचना निर्माण गरिने बताउनुभयो । डा. भट्टराईले यो बर्षको अन्तिम सम्ममा बृहत राष्ट्रिय सम्मेलन गरी नयाँ शक्तिलाई बिधिवत घोषणा गरिने जानकारी दिनुभयो । त्यसका लागि केन्द्रदेखि स्थानिय तहसम्म अन्तरिम संरचना तयार गरिने उहाँले स्पष्ट पार्नुभयो ।

नयाँ शक्ति निर्माणको क्रममा झण्डै ३० जिल्लाको भ्रमणमा बैकल्पिक राजनीतिक शक्तिप्रतिको आकर्षण पाएको उहाँको दावी छ । नयाँ शक्तिमा अधिकांश नयाँ अनुहारका युवाहरुको बर्चश्व रहने र अन्य राजनीतिक पार्टीबाट तानातानको अवस्था नरहने उहाँले बताउनुभयो । नयाँ शक्तिको बिचार, सोच कार्यक्रम र मानिसहरु पनि नयाँ भन्दै उहाँले कुनै पार्टी विशेषको परिवर्तित रुप नहुने ठोकुवा गर्नुभयो ।

आर्थिक विकास र समृद्धि मुख्य एजेण्डाका साथ राष्ट्रको नेतृत्व गर्ने लक्ष्य सहित नयाँ शक्तिको निर्माण हुने भट्टराईले बताउनुभयो ।

Comments