मेलबर्न । नेप्ले इभेन्टसले आगामी मार्च २०१६ मा अष्ट्रेलियाका विभिन्न पाँच शहरमा बजाउँछ अष्ट्रेलिया नामक वृहत सांगीतिक टुरको आयोजना गर्दैछ ।

कँडेल कन्सल्टेन्सीको प्रस्तुतिमा हुने बजाउँछ अष्ट्रेलिया सांगीतिक टुरको शुरुवात आइतवार ६ मार्चमा पर्थबाट हुनेछ । द एज व्याण्डको समेत आकर्षक प्रस्तुति रहने पर्थको इभेन्टलाई नमस्ते नेपाल र हावा इन्टरटेन्टमेन्टले व्यवस्थापन गर्नेछ ।
यस्तै व्रिस्बोनमा पनि मार्च १६ बुधवारका दिन बजाउँछ अष्ट्रेलिया कार्यक्रम हुँदैछ । उक्त कार्यक्रममा द एज व्याण्डको साथै चर्चित र्यापर गायक यमबुद्धको प्रस्तुति रहनेछ । व्रिस्बोनको कार्यक्रमलाई भने सि इभेन्टसले व्यवस्थापनको जिम्मा लिएको छ ।

सिड्नीमा पनि यो कार्यक्रम हुँदैछ । मार्च २० आइतवार हुने सिड्नीको कार्यक्रममा पनि द एज व्याण्ड र र्यापर गायक यमबुद्धको प्रस्तुति रहनेछ । सिड्नीमा हुने कार्यक्रमलाई माया इभेन्ट्सले स्थानीय रुपमा व्यवस्थापन गर्ने भएको छ ।
यस्तै एडेलाडेमा पनि बजाउँछ अष्ट्रेलिया कार्यक्रम गर्ने योजना रहे पनि स्थानीय व्यवस्थापकको टुँगो लगाउँन बाँकी रहेकोले कार्यको मिति पनि तय नभएको आयोजकले बताए ।

अन्त्यमा मार्च २७ आइतवारका दिन मेलबर्नमा भव्य सांगीतिक कार्यक्रमको आयोजना गरी यो टुरको समापन गरिनेछ । मेलबर्नमा हुने कार्यक्रमको व्यवस्थापन भने मूल आयोजक नेप्ले इभेन्ट्सले नै सम्हाल्नेछ । मेलबर्नमा पनि द एज व्याण्डको साथै चर्चित र्यापर गायक यमबुद्धले आफ्नो रकिङ प्रस्तुति दिनेछन् ।

बजाउँछ अष्ट्रेलिया सांगीतिक टुरलाई अविस्मरणीय र ऐतिहासिक बनाउँनका लागि अहिलेदेखि नै तयारीको सुरसार गरिसकिएको आयोजकले बतायो । यो मेगा इभेन्टमा धेरै भन्दा धेरै दर्शकहरुको साथ प्राप्त हुने आयोजकको अपेक्षा छ ।
यो कार्यक्रमबाट उठेको रकम काठमाडौंमा रहेको मातृभूमि महिला समाजलाई च्यारिटीस्वरुप प्रदान गरिनेछ । उक्त समाजले हाल २० भन्दा बढी अनाथ बाल बालिकाहरुको पालनपोषण गरिरहेको छ ।

नेप्ले इभेन्टस् विगत लामो समयदेखि अष्ट्रेलियामा रहेका नेपाली समुदायमा क्रियाशील रहँदै आएको छ ।

Comments

comments