काठमाडौँ । थाइल्याण्डको अस्पतालमा उपचार गराइरहेका एमाओवादी सचिव वर्षमान पुनलाई भेट्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र सभामुख ओनसरी घर्तीमगर बुधबार थाइल्याण्ड जानुहुने भएको छ ।

जण्डिस रोगका कारण विरामी परेका एमाओवादी नेता पुनको स्वास्थ्यस्थितीबारे जानकारी लिन उहाँहरु बुधबार अपरान्ह थाइल्याण्ड जानुहुने भएको हो ।

थाइल्याण्डस्थित समितिभेज अस्पतालमा पुनको स्थिती हेरेर सभामुखले त्यहाँ बढीमा एकसातासम्म रहनुहुनेछ । तर एमाओवादी अध्यक्षको भ्रमण भने कति लामो हो भन्न खुलाइएको छैन।

सरकारले सदनमा पेश गरेका कतिपय विधेयकहरुमाथि छलफल र प्रक्रिया अघि बढाउन सभामुखले मंगलबार बैठक बस्नु अघि प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरुसँग परामर्श गरी बैठक कतिदिन स्थगीत गर्ने भन्ने निर्णय गर्नुहुनेछ ।

पहिले पनि जण्डिस रोगको उपचार गरेर स्वास्थ्य लाभ लिएका अनन्त पछिल्लो समय सोही रोगबाट ग्रसीत भएपछि भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गरी नेपाल फर्कनु भएको थियो ।

तर त्यसको केही दिनमा नै फेरी रोग बल्झिएपछि पुन थप उपचारका लागि थाइल्याण्ड जानुभएको थियो ।

Comments

comments