काठमाडौँ । बिहीवार व्यवस्थापिका संसदको बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा सोमवारदेखि सुरु भएको संविधान संशोधन विधेयकमाथि नै छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

मधेशवादी दलहरुको अवरोधकाबीच सभामुख ओनसरी घर्तीले संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफललाई निरन्तरता दिँदै आएकी छिन् । बैठक सुरु हुनासाथ मधेसवादी दलका सांसद्हरुले बेलमा पुगेर नाराबाजी गरे पनि सभामुख घर्तीले विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्न नाम टिपाएका सांसदहरुलाई बोल्ने समय दिँदै आएकी छिन्। बुधवार लोसारको सार्वजनिक विदा परेकाले सभामुख घर्तीले बिहीवारका लागि बैठक बोलाएकी हुन्।

विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै कांग्रेस, एमाले र एमाओवादीका सांसदहरुले विधेयकले सबै जातजाति, भाषाभाषी र वर्गको समानुपातिक/समावेशी प्रतिनिधित्वको सुनिश्चित गर्ने भएकाले विधेयक पारित गर्न मधेसवादी दलका सांसदहरुलाई आग्रह गरेका थिए ।

तर मधेसी मोर्चामा आवद्ध सांसदहरुले भने प्रदेशको सिमाकंन लगायतका विषयलाई टुंगो लगाएर संविधान संशोधन विधेयकलाई अघि बढाउनु पर्ने अडान राख्दै संसदमा विरोध जनाउँदै आएका छन्। सरकारले प्रमुख तीन दलको सहमतिमा संविधान संशोधन विधेयक गत मंसिर २९ गते गते संसद्मा पेश गरेको थियो ।

Please follow and like us:

Comments