मेलबर्न । भिक्टोरिया राज्यको केही जंगलमा फैलिएको डढेलो नजिकका मानव वस्तीतर्फ आउनसक्ने खतरा बढ्दै गएको छ । त्यसैले भिक्टोरियन कन्ट्री फायर अथोरोटीले अधिकांश ठाउँमा आज आगो बाल्न पूर्णत प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

भिक्टोरिया प्रहरीले डढेलो प्रभावित सर्फ तटीय क्षेत्रमा बसोबास गर्ने समुदायलाई आगो बाल्न प्रतिबन्ध लगाएको हो । भिक्टोरियाको तापक्रममा भएको अस्वभाविक वृद्धिका कारण डढेलो फैलने क्रम बढेको छ । अहिले मेलबर्नको तापक्रम झण्डै ३९ डिग्रीको हाराहारीमा पुगेको छ । यहाँको मौसम विभागले नयाँ वर्षको पहिलो साताभरि नै गर्मी हुने जनाएको छ । पूर्णतः आगो निषेधित क्षेत्र घोषित पाँच जिल्लाहरुमा साउथवेष्ट, सेन्ट्रल, वेष्ट एण्ड साउथ गिप्सल्याण्ड, नर्थ सेन्ट्रल र विमेरा रहेका छन् । गत क्रिसमसको दिन ग्रेट ओसियन रोड क्षेत्रमा लागेको आगो अहिलेसम्म पनि पूर्णत नियन्त्रणमा आएको छैन । डढेलो लागेका क्षेत्रबाट मानिसहरुलाई हटाउने सिफारिस गरिएको छ ।

वी रिभर र सेपरेशन त्रिकमा शुक्रबार लागेको डढेलो ५ सय हेक्टरबाट बढेर २८ सय हेक्टरमा फैलिसकेको छ । आपतकालीन सेवाका एक अधिकारी जोय बुफोनीले बिहीबार आगोका विषयमा विशेष ध्यान दिन भिक्टोरियामा रहेका सबैलाई आग्रह गरेका छन् । उनले भिक्टोरियावसीहरुलाई सावधान रहन बढी खतरा रहेका ठाउँका स्थानीयलाई जतिसक्दो छिटो ठाउँ छोडिसक्न भनेको छ ।

Please follow and like us:

Comments