काठमाडौं । भारतले अघोषित रूपमा लगाएको नाकाबन्दी अघोषित रूपमै खुकुलो पार्दै लागेको छ । भन्सार विभागले पनि भारतबाट इन्धन आयात केही सहज बन्दै गएको जनाएको छ ।

विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाका अनुसार गएको तीन दिनमा भारतसँगका विभिन्न नाका भएर इन्धन बोकेका चार सय ७२ वटा गाडी नेपाल प्रवेश गरेका छन् ।

भारतमा बिदाको दिन केही कम इन्धनका गाडी नेपाल आएपनि अरु दिन सहज बन्दै गएको छ । नेपाल भारतको विभिन्न नाकाबाट मंगलबार मात्रै एक सय ९५ वटा इन्धनका गाडी नेपाल छिरेका उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार डिजेल बोकेका सबैभन्दा धेरै एक सय ५४ वटा ट्याङकरसहित पेट्रोलको २३, हवाई इन्धनको १०, मट्टितेलको ४ र ४ वटा ग्यास बुलेट नेपाल प्रवेश गरेका हुन् ।

यस्तै सोमबार १ सय २३ वटा इन्धनका गाडी नेपाल आएकामा डिजेलको ८०, पेट्रोलको १२, २७ बुलेट ग्यास, हवाइ इन्धन २ र मट्टितेलको २ ट्याङकर नेपाल प्रवेश गरेका भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाले बताउनुभयो । असोज ७ गते अघिको जस्तो धेरै परिमाणमा अझै पनि इन्धन आयात हुन नसकेपनि केहि सहज बन्दै गएको उहाँको भनाई छ ।
असोज ७ गतेदेखि तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चाले सिमा नाकामा अवरोध गर्ने भन्दै धर्ना दिएका थिए । त्यसपछि भारतले सुरक्षाको कारण देखाउँदै अघोषित नाकाबन्दी गरेको हो ।

Comments