काठमाडौं । गुरुङ समुदायले बुधवार तमु ल्होछार पर्व मनाउदै छन् । गुरुङ समुदायले हरेक वर्ष पौष १५ गतेका दिनलाई नयाँ वर्ष प्रारम्भ हुने दिनका रुपमा ल्होछार मनाउँने गर्दछन् । यो वर्ष भेडा वर्षलाई विदाइ गरी बाँदर वर्ष प्रारम्भ भएको छ ।

ल्होको अर्थ वर्ष र छारको अर्थ नयाँ भन्ने हुन्छ । गुरुङ समुदायले बुधवार ल्हु ल्हो अर्थात भेंडा वर्गलाई विदा गरी नयाँ वर्षका रुपमा टे ल्हो अर्थात बाँदर वर्गलाई स्वागत गरी यो पर्व मनाउदैछन् । पर्वका अवसरमा आफन्त तथा साथीभाइ भेला भई मान्यजनबाट आशीर्वाद लिदै मिठो खाई एक आपसमा आँशीमाला अर्थात शुभकामना आदानप्रदान गर्ने गरिन्छ । यो पर्वमा गुरुङ समुदायको चुड्का तथा घाटु नाचेर रमाईलो गर्ने चलन पनि छ । नयाँ वर्षका रूपमा ल्होछार पर्व नेपालमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चालगायतका जातिले मनाउने गर्छन् । विदेशमा रहेका सो समुदायका सदस्यले पनि एकापसमा शुभकामना आदानप्रदान गरेर यो पर्व मनाउने गरेका छन् । प्रत्येक १२ वर्षमा युग परिवर्तन हुने र ती वर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेंडा, बाँदर, कुकुर र बँदेलका प्रतीकका रूपमा लिइन्छ ।
राम्रो लगाउने र मीठो खाने दिनका रूपमा प्रचलित सांस्कृतिक पर्व नेपालका साथै चीन, सिङ्गापुर, मङ्गोलिया, मलेसिया, भारत, थाइल्यान्ड, भियतनाम, भुटान, लाओस, म्यान्मा, जापानलगायतमा मनाइन्छ ।

गुरुङ जातिले आज पुस १५ गते तमु ल्होछारका रूपमा, तामाङलगायतका जातिले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछारका रूपमा तथा शेर्पा र भोटेलगायतका जनजातिले फागुन शुक्ल प्रतिपदाका दिनदेखि ग्याल्पो ल्होछार मनाउने संस्कार छ । पछिल्लो समय भने गुरुङ समुदायले ल्होछार पर्वलाई आफ्नो हक अधिकार प्राप्तिका लागि एकजुट हुने अभियानका रुपमा पनि मनाउन थालेका छन् । तमु ल्होछारको अवसरमा विगतमा झै यसवर्ष पनि राजधानीको टुडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथै गुरुङ समुदायको विभिन्न परिकारहरु राखिएका छन् ।

यसैबीच, तमु ल्होछारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी,उपराष्ट्रपति नन्दकिशोर पुन र प्रधानमन्त्री केपी शर्मा ओली लगायतले छुट्टा छुट्टै सन्देश जारी गर्दै यस्ता पर्वले सबै नेपालीलाई एक सुत्रमा गाँस्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भएको छ ।

सरकारले पर्वका अवसरमा बुधवार सार्वजनिक विदा दिएको छ ।

Comments