–रिया भण्डारी ।

काठमाडौं । भूकम्पपछि घरवास गुमाएका भूकम्प पीडितहरुलाई अहिले आफ्ना स साना बालबालिकाहरुलाई बचाउँनै मुस्किल परेको छ । बढ्दो चिसोका कारण बालबालिकाहरुमा विभिन्न किसिमका स्वास्थ्य समस्याहरु देखिन थालेपछि पीडितहरुको पीडामाथि झनै पीडा थपिएको छ ।

काठमाडौंस्थित कान्ति बाल अस्पतालमा अहिले भूकम्प पीडित बालबालिकाको चाप बढ्दो छ । बढ्दो चिसोका कारण भूकम्प प्रभावित क्षेत्र सिन्धुपाल्चोक,दोलखा नुवाकोट र धादिङबाट आउने बिरामीको संख्या अत्याधिक रहेको अस्पतालले जनाएको छ । तर सरकारले आफुहरुलार्इ कुनै सहयोग नगरेको उनीहरुको गुनासो छ ।  सोमवार र मंगलवार मात्र कान्ति बाल अस्पतालमा आउने बिरामीको संख्या ७३७ पुगेको छ । अधिकांश बिरामीहरु भूकम्प प्रभावित क्षेत्रका रहेका छन् । चिसोको कारणले भूकम्प प्रभावित क्षेत्रका बालबालिकामा निमोनिया, रुघाखोकी र भाइरल इन्फेक्सन जस्ता बिभिन्न स्वास्थ्य समस्याहरु देखिएको छ । भूकम्प पीडितहरुको नाममा सहयोग भन्दै हल्ला गरेपनि आफूहरुले भने कुनै सहयोग नपाएको एक अभिभावकले गुनासो गरे ।

भूकम्पमा घर भत्किएपछि त्रिपालमा जेनतेन बस्दै आएका पीडितहरुलाई अहिले  मध्य पुषको चिसोले सताएको छ । स्थिति कतिसम्म भयावाहपूर्ण बनेको छ भने चिसोकै कारण भूकम्प प्रभावित जिल्ला दोलखामा मात्र यो दुई हप्ताकोबीचमा १३ जनाको मृत्यु भैसकेको छ । राहत र पुननिर्माणको आशामा त्रिपालमा बस्दै आएका उनीहरुसंग चिसोबाट बच्न न न्यानो लुगा नै छ न त ओड्ने र ओछ्याउँने नै । छ त केवल सरकार र दाताहरुले बाँड्दै आएका आश्वासन ।
आफुहरुको नाममा विभिन्न सघसंस्थाले सहयोगको नारा लगाएको तर चिसोले यसरी बिरामी पर्दा पनि कसैको सहयोग नपाएको भन्दै सिन्धुपाल्चोकदेखि १६ दिनको नवजात शिशु बोकेर काठमाडौं आएकी एकजना पीडित महिलाले गुनासो पोखिन् ।

कान्ति बाल अस्पतालमा मात्र अहिले सयौं भूकम्प प्रभावित क्षेत्रका बालबालिका जीवन र मरणसंग जुधिरहेका छन् । यस्तै स्थिति अन्य अस्पतालहरुमा पनि छन् । तर नगरिकको स्वास्थ्यमा समान पहँुच भन्ने नारा घन्काइरहेको सरकारको कानसम्म चिसोका कारण विरामी भएका भूकम्प पीडित यी बालबालिकाहरुको क्रन्दन खै कहिले पुग्ला !

Comments