काठमाडौं । व्यवस्थापिका संसद्को आजको बैठकमा पनि मधेसी मोर्चाका सांसदहरुले नाराबाजी गरेका छन् । वैठक शुरु हुने वित्तिकै उनीहरुले रोष्ट्रम घेराउ गर्नुका साथै नाराबाजी समेत गरेका थिए ।

बैठकमा चर्को नाराबाजीकाबीच नै संविधान संशोधन विधेयकमाथि छलफल अघि बढाइएको थियो । बैठक सुरु हुनसाथ मोर्चाका सांसदहरुले अवरोधको प्रयास गरे पनि छलफल भने अघि बढेको थियो ।  छलफलमा सहभागी सासदहरुले मधेस आन्दोलनलाई सम्बोधन गर्न सरकारले संविधान संशोधन विधेयक ल्याइसकेको अवस्थामा अवरोध तथा आन्दोलन गर्नुको अर्थ नहुने बताएका थिए ।

तत्कालीन कांग्रेस नेतृत्वको सरकारले दर्ता गराएको विधेयकलाई वर्तमान सरकारले मधेसी मोर्चाको घेराउ तथा विरोधबीच नै संसदमा दर्ता र पेस गरेको थियो । संविधान संशोधन गर्ने विधेयकलाई पारित गर्ने प्रतिवद्धतासहित सरकारले तीन बुँदे निर्णय पनि गरिसकेको छ ।

विधेयकमा राज्यका निकायमा समानुपातिक समावेशी सहभागिता सुनिश्चित गर्ने तथा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने व्यवस्था उल्लेख छ ।

संसद वैठक विहीवार अपरान्ह बस्ने गरी पुनः स्थगित भएको छ ।

Comments