विशेष । अष्ट्रेलियाका विभिन्न राज्यहरुमा समुद्रामा डुबेर मृत्यु हुनेहरुको संख्या बढ्दै गएकोप्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । त्यसरी डुबेर मृत्यु हुनेहरुमा नेपालीहरु पनि रहेका छन् । यसवर्षको क्रिसमसमा मात्रै एकैदिन दुई जना नेपालीको अष्ट्रेलियामा पौडिने क्रममा डुबेर निधन भएको छ ।

यस पटकको क्रिस्मसको विदामा मात्र २ अष्ट्रेलियाका दुई भिन्न दुर्घटनामा दुई नेपालीले ज्यान गुमाएपछि अष्ट्रेलियाली नेपाली समुदाय नै स्तब्ध बनेका छन् । सिड्नीको हर्सभिलमा बसोबास गर्दै आएका ४५ वर्षीय पूर्ण बोहरा र ब्रिसबेन बस्दै आएका २२ वर्षीय अनिस क्षेत्री (धन) को पौडिने क्रममा डुबेर निधन भएको हो ।

वर्षभरिको कामको थकान मेटाउन र क्रिस्मस पर्वको चहलपहल मनाउन सपरिवार घुम्न जाने अष्ट्रेलियन परम्पराको सिको गर्दै पछिल्लो समय अष्ट्रेलियावासी नेपाली माझ पनि सपरिवार क्याम्पिंग जाने प्रचलन बढ्दै गएको छ । पारिवारिक रमझमको माहोलमा सावधानी अपनाउन नसक्दा वर्षेनी अष्ट्रेलियामा विभिन्न दुर्घटनाहरु हुने गर्दछन्, जुन दुखद नियतिको शिकार यस वर्ष नेपाली समुदाय पनि बन्न पुग्यो ।

यस वर्ष मात्रै अष्ट्रेलियामा २७१ जनाले पानीमा डुबेर ज्यान गुमाए । सडक दुर्घटना देखि पौडी खेल्दा होस् या खोलारझरनार समुन्द्र आदिमा रमाइलो गरिरहेका बेला डुबेर र बगाएर वर्षेनी दुखद घटनाहरु हुँदै आएका छन् । यसै वर्षको फेब्रुअरीमा पनि एक नेपाली युवा लोमस पराजुलीको समुन्द्री छालले बगाएर निधन भएको थियो ।

यसैबीच अष्ट्रेलियाका विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरुले सम्पूर्ण अष्ट्रेलियावासी नेपालीलाई खतरायुक्त क्षेत्रमा रमाइलो गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । क्षणिक रमाइलोको उत्तेजनामा कुनै किसिमको जोखिम मोल्नुपूर्व आफ्ना परिवार तथा प्रियजनले आफ्नो प्रतिक्षा गरिरहेको सम्झिन उनीहरुको आग्रह छ ।

नेपालमा पौडी पोखरी,कुनै ताल तलैया वा नदीमा मात्र पौडिने बानी भएकाले समुद्रको चरित्र र स्वभावबारे अन्दाज नहुँदा यसरी डुब्ने गरेको विज्ञहरु बताउँछन् । अष्ट्रेलियामा मात्र होइन जापान लगायतका देशहरुमा पनि समुद्रमा डुबेर नेपालीहरुको निधन हुने गरेको छ ।

Comments