काठमाडौँ । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा(क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी १२२ औँ माओ दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

एमाओवादी अध्यक्ष दाहालले विज्ञप्ति जारी गर्दै विश्व क्रान्तिको नयाँ लहर सृष्टि गर्न माक्र्सवाद–लेनिनवाद–माओवादको आलोकमा साहसका साथ अगाडि बढ्न आह्वान गर्नुभएको छ । एक्काइसौँ शताब्दीका क्रान्तिका अभिभारा पूरा गर्न दृढतापूर्वक अगाडि बढ्न आग्रह गर्दै उहाँले आफ्नै माौलिकता र विशेषतामा वर्ग सङ्घर्ष र वैचारिक सङ्घर्षको बीचबाट अगाडि बढ्दै जाने क्रममा नै मालेमावादको रक्षा, प्रयोग र विकास सम्भव छ भन्नुभएको छ ।

यसैगरी क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यले माक्र्सवाद–लेनिनवाद–माओवादको आलोकमा नयाँ जनवाद हुँदै समाजवाद तथा साम्यवादको दिशामा निरन्तर अगाडि बढिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले आज जारी गर्नुभएको विज्ञप्तिमा दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्ती वर्ग र साम्राज्यवाद/विस्तारवादका विरुद्ध नयाँ ढङ्गले जनवादी क्रान्तिको तयारी गर्ने र दक्षिणपन्थी संशोधनवादको विरोधमा सशक्त विचारधारात्मक सङ्घर्ष चलाउने काममा दृढतापूर्वक अगाडि बढाउन आह्वान गरिएको छ । रासस

Comments