सिड्नी । नेपालका किराँत समुदायको महानपर्व उधौली अष्ट्रेलियाको सिड्नीमा भव्यताका साथ मनाइएको छ ।

किराँत सोसाइटी अफ एनएसडब्लुको आयोजनामा सिड्नीमा उधौली पर्व मनाइएको हो । डिसेम्बर १९ शनिवारका दिन राई लिम्बुु याख्खा र सुनुवारहरुले परम्परागत रुपमा मनाइदै आएको उधौली पर्वको अवसरमा टेम्पे रिजर्भ पार्क टेम्पेमा विशेष कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

उक्त दिन प्रकृतिको पुजा गर्दै सिड्नीस्थित किराँती समुदायले आफ्नो मौलिक पर्व निकै हर्षोल्लासका साथ मनाए । समारोहमा सिड्नीमा रहेका नेपाली समुदायका अगुवाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपालबाट आउनु भएका जनजाति नेताहरु रामबहादुर तुम्वाहम्फे र विजय सुब्बा पनि सहभागी हुनुभएको थियो । कार्यक्रमलाई रामबहादुर तुम्वाहाम्फे, गणेश तामाङ, अरुण तामाङ र संजय राई सम्बोधन गर्नुभएको थियो ।

पारिवारिक वातावरणमा सम्पन्न सो कार्यक्रममा छोलो र घैटो फुटाउने खेलहरु भएका थिए भने मेलवर्नबाट पनि अतिथिहरु कार्यक्रममा सहभागी भएका थिए ।

उधौलीमा सेउलीको कुल देवता स्थापना गरी प्रकृतिको पूजा गरिन्छ । खेतवारीमा रोपेको अन्नवाली र पशुपक्षीलाई राम्रो होस् भनेर प्रकृतिसँग प्रार्थना गरिन्छ । कार्यक्रममा नेपाली मौलिक खानाका परिकारको साथै चण्डी नाच र साकेला नाच पनि प्रस्तुत गरिएको आयोजक मध्येका एक राम सितुङ्खा राईले बताए ।

Comments