–बुद्धि शर्मा

तराई मधेसमा जारी आन्दोलनलाई सम्वोधन गर्न सरकारले प्रमुख तीन दलहरुको समेत सहमतिमा प्रस्तुत गरेको तीन बुंदे प्रस्तावलाई भारतले स्वागत गरे पश्चात नेपाली राजनीति सहजतातर्फ जान आटेंको धेरैले अनुमान गरेका थिए । तर आन्दोलनरत मोर्चाले अपूरो भन्दै अस्वीकार गरेपछि राजनीतिक अन्योल थप बढेको छ । आखिर किन अस्वीकार गर्यो मोर्चाले तीन बुदें ?

मोर्चाले सरकार समक्ष पेश गरेको ११ बुदें प्रस्तावलाई सम्वोधन गर्ने गरी प्रमुख तीन दलहरुले मुख्य तीन मागहरु सीमाङ्कन, समावेशी समानुपातिक र निर्वाचन क्षेत्रका विषयहरुलाई सम्वोधन गर्ने गरी तीन बुदें प्रस्तावमा सहमति गरे । ती विषयहरुलाई संसदमा प्रस्तुत संविधान संसोधन विधेयकमा समेत सामेल गरिएको थियो । त्यसै घटनाक्रमहरुलाई आधार मान्दै नेपालको नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै आएको भारतले समस्या समाधानकोलागि सकरात्मक कदम भन्दै सवैलाई आश्चर्यमा पार्ने किसिमले स्वागत गर्यो ।

अर्कोतर्फ आफ्ना मागहरुवारे भारतको पूर्ण समर्थन खोज्न दिल्ली पुगेका मोर्चाका नेताहरुले भारतीय राजनीतिभित्रको असन्तुलनको कारण अपेक्षित समर्थन प्राप्त गर्न नसकेपछि निराश स्वदेश फर्किय । त्यस घटनाक्रमवाट हौसियका प्रमुख दलहरुले भारतीय चाहनालाई समेत सम्वोधन गर्ने गरी मधेस आन्दोलनलाई सम्वोधन गर्ने गरी तीन बुँदे सहमतिको प्रस्ताव तयार गरे । तर मोर्चाका नेताहरु भने अझै सम्मपनि प्रमुख दलहरु सकारात्मक नभएको भन्दै आन्दोलन जारी रहने बताए ।
भारतको समेत भित्री समर्थन रहेको भनिएको तीन बुदें प्रस्ताव मोर्चाले अस्वीकार गर्नुको प्रमुख कारण लामो आन्दोलनलाई उधारोमा टुङ्गयाउदा आन्दोलनमा होमिएका व्यक्तिहरुवाट आउन सक्ने नकारात्मक प्रतिक्रिया प्रमुख कारण भएको विश्लेषकहरु वताउँछन् ।

त्यसमाथि मधेस आन्दोलनलाई विभिन्न अतिवादी पक्षहरुले समेत जर्वजस्त उग्र बनाईरहेको अवस्थामा त्यसले लिन सक्ने स्पेसवाट पनि मोर्चा सतर्क रहनुपरेको हो । अर्कोतर्फ मोर्चा स्वयंमले आन्दोलनको नाममा मधेसी समुदायलाई गलत सूचना मार्फत दिग्भ्रमित पारेको कारण तीन बुदें प्रस्ताव अनुसार आन्दोलन विसर्जन गर्दा आउन सक्ने नकारात्मक प्रतिक्रिया पनि मोर्चाको लागि टाउको दुखाई भएको हो ।

तर अव कुनै पनि वहानामा मोर्चाले जनजीवनलाई अस्तव्यस्त पार्ने आन्दोलन लम्व्याउनु हुँदैन् । करिव करिव कुराहरु मिलिसकेको र संवाद जारी रहेको कारण वास्तवमै अव आन्दोलनको औचित्य छैन् । मोर्चाले यो यर्थाथ मधेसी जनतालाई बुझाई आन्दोलन फिर्ता लिनु जरुरी छ । साथै यसमा नै सीङ्गो मुलुकको जीत छ ।

Comments

comments