–श्रीकृष्ण सिलवाल

कुनै कुरामा दत्तचित्त भएर लागियो भने अवश्य सफल भइन्छ । किनभने कर्म गरेपछि फल अवश्य पाइन्छ । त्यसकै एउटा उदाहरण बनेका छन् गितारिष्ट दीपविक्रम सिंह ठकुरी । सानै उमेरदेखि संगीतमा रुची राख्ने दीप आज आफ्नो छुट्टै पहिचान बनाउँन सफल भएका छन् । कुशल गिटारिष्ट उनको पछिल्लो पहिचान हो । पाश्चत्य शैलीको संगीतको साथै मौलिक नेपाली संगीतलाई पनि उनी उत्तिकै मन पराउँछन् । उनीसँगै संगीत सिकेका र सँगै सहयात्रा गरेका धेरै साथीहरु विदेसिए,त्यसमध्ये धेरैले पेशा परिवर्तन गरे,पैसा कमाए र संगीतलाई चटक्कै माया मारे । तर दीप भने अझै संगीत क्षेत्रमै रमाइरहेका छन् । उनी भन्छन्–संगीत भनेको मेरो लागि भगवान हो । किनभने भगवान भनेकै आस्था र विश्वास हुन् । र, मलाई पनि संगीतप्रति ठूलो आस्था र विश्वास छ ।

ठकुरी परिवारमा जन्मेको मान्छे व्यापार वा सेना लगायतका पेशामा जाने गर्छन् । तर दीप भने संगीतमा लागिपरेका छन् । संगीतमा लागेर जीवन यापन गर्न सकिन्नँ भन्नेहरुका लागि उदाहरण बनेर देखाउँन चाहन्छन् उनी । त्यसो त संगीत क्षेत्रमा लाग्न उनलाई घर परिवार र साथीभाइबाट पनि राम्रो सपोर्ट छ । त्यसैले दीपले कक्षा नौमा पढ्दा पढ्दै साथीहरुसँग मिलेर अर्थ नामक एउटा सांगीतिक व्याण्ड स्थापना गरे र त्यही व्याण्डबाट गीत निकाले । व्यवसायिक रुपमा त्यो गीत त्यति नचले पनि त्यसले दीपलाई सांगीतिक क्षेत्रमा परिचय दिलायो । थुप्रै स्वदेशी तथा विदेशी गुरुहरुबाट सिकेको गितारवादन कलाले उनको पहिचानलाई झनै बढाएको छ ।

त्यसो त उनी किबोर्ड,ड्रम,भायोलिन र ट्रम्पेट लगायतका थुप्रै बाजाहरु पनि बजाउँन सक्छन् ।

कुनै बेला दैनिक १८ घण्टासम्म गितार प्राक्टिस गर्ने दीप अहिले नेपाल संगीत पाठशाला लगायत थुप्रै म्यूजिक स्कूलहरुमा प्रशिक्षकका रुपमा आवद्ध छन् । साथै उनले थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुसँग एउटै स्टेजमा बसेर गितार बजाएका छन् । उनी आफूले जानेको कुरा नयाँ पुस्तालाई पनि हस्तान्तरण गर्नुपर्छ,किनभने ज्ञान बाँडेर रित्तिदैन बरु बढ्छ भन्ने मान्यताका साथ बेला बेलामा म्यूजिक वर्कसप पनि गरिरहन्छन् ।

उमेरले भर्खर २३ वर्ष लागे पनि संगीत क्षेत्रमा हासिल गरेको ज्ञान र अनुभवले भने दीपलाई निकै परिपक्का बनाइदिएको छ । दीपको गितारवादनका भिडियोहरु यूट्युवमा दीप सेभेन शीर्षकमा हेर्न सकिन्छ ।

Comments

comments