गौर । रौतहटको सदरमुकाम गौरमा आज पनि बिहानैदेखि तनाव जारी छ  । जिल्ला प्रशासन कार्यालय रौतहटले सोमबार बिहान साढे १० बजेदेखि फेरि कर्फ्यू जारी गरेको छ।

आइतबार जिल्ला सदरमुकाम गौरमा १७ वर्षे किशोरको प्रहरीको गोली लागेर मृत्यु भएपछि स्थानीय प्रशासनले आइतबारै अपरान्ह ४ बजेदेखि सोमबार बिहान ६ बजेसम्म कर्फ्यू लगाएको थियो। आज पनि स्थिति तनावग्रस्त भएकाले थप क्षति हुन नदिन फेरि कर्फ्यु जारी गरेको हो।

यसअघि सोमबार स्थिति सामान्य भएको भन्दै बिहान ६ बजेदेखि कर्फ्यू हटाइएको थियो ।

मोर्चाका कार्यकर्ताहरूले बिहानै प्रहरी चौकीमाथि आक्रमणमा उत्रिएका थिए। यस्तै उनीहरुले ठाउँ ठाउँमा टायर बालेर सडक अबरुद्ध पारेका छन्।

परिस्थिति असामान्य हुन थालेपछि सोमबार बिहान साढे १० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

कर्फ्यू गौर नगरपालिका आसपास क्षेत्रमा लगाइएको छ।

Comments