समाचार विश्लेषण । राष्ट्रपति विद्यादेवी भण्डारीले जनकपुरको रामजानकी मन्दिर पुगेर गरेको पूजाको विषयलाई लिएर अनेकौ वादविवाद सिर्जना गरिएको छ । राष्ट्रपति भण्डारी बिबाह पञ्चमीमा सहभागी भएको भोलिपल्टबाट शुरु भएको विवाद अझै सेलाएको छैन । तर यो प्रकरण झन् पेचिलो भएको छ ।

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताको विरोधका बाबजुत भण्डारीले जानकी मन्दिर पूजा गरेकी थिइन् र त्यसक्रममा जनकपुर दिनभरजसो तनावग्रस्त बनेको थियो । मन्दिर जाँदा सुरक्षा व्यवस्था मजवुत बनाउनु पर्ने दायित्व सरकारको थियो भने अर्को तर्फ राष्ट्रपतिको सुरक्षाको प्रबन्ध गर्दा धार्मिक स्थलको महत्व र प्रचलनलाई पनि उत्तिकै ध्यान दिन जरुरी थियो । यसको संयोजन नमिल्दा विवाद अरु बढेको देखिन्छ ।

शुक्रबार जनकपुरका स्थानीयले गंगाजल ल्याएर उनीहरुकै शब्दमा मन्दिर शुद्ध गरेपछि अहिले यो प्रकरण निक्कै विवादमा छ । यो विषयलाई राष्ट्रपति विधवा भएको र उनले पूजा गरेका कारण शुद्धीकरण गरिएको भनेर हल्ला फैलाइएको छ एकातिर भने अर्कोतर्पm यसविरुद्धको आवाज चर्को बनाइएको छ । जानकी मन्दिरका पुजारीका अनुसार महिला प्रवेश गरेका कारण मन्दिर शुद्धिकरण गरेको नभई मन्दिरमा जुत्ता लगाएर कुकुरसहित प्रवेश गरेका कारण मन्दिर सरसफाई गरिएको हो ।

तर, राष्ट्रपति विधवा भएकै कारण मन्दिर सफा गरिएको भन्ने हल्लाको ब्यापक बिरोध भइरहेको छ । यही विषयलाई लिएर समाजका केही अराजक तत्वहरुले मौकाको फाइदा उठाउने कोसिस पनि गरेको देखिन्छ तर जानकी मन्दिर र त्यसका पुजारीले जुन खाले अभिव्यक्ति दिएका छन् त्यसले भने न्यूजमा आएजस्तो सत्यता देखाउँदैन । त्यसैले केही अराजक तत्वले यसैलाई बहाना बनाएर धार्मिक सद्भाव विथोल्न खोजेको देखिएको छ ।

र, यसैलाई आधार बनाएर जिम्मेवार नेताहरुले पनि प्रहार गर्न खोज्नु कदापी राम्रो काम होइन । अहिले त तराई र पहाडबीचको सद्भाव बलियो बनाउने बेला हो । मन फटाउने होइन जोड्ने बेला हो त्यसैले सबै राजनीतिक दलहरुले यसलाई आफू अनकुल व्याख्या र भाषण गर्नु भन्दा पनि यसको गहिराईमा पुगेर विश्लेषण गर्ने बेला आएको छ । अहिले पनि चेतनाको स्तरलाई लिएर एक समुदायले अर्को समुदायलाई प्रहार गर्ने होइन कि धार्मिक सहिष्णुता र एकताको खाँचो छ । त्यसैले यो प्रकरणमा जनकपुर मन्दिर र तिनका पुजारीले जुन स्पष्टीकरण दिएका छन् त्यो बिषयमा औपचारिक रुपले नै आफना धारणाहरु सार्वजनिक गरेर चलिरहेको हल्ला र अफवाहलाई जवाफ दिन जरुरी छ ।

Comments

comments