काठमाडौं । भारतको आडमा मधेस आन्दोलन शुरु गरेको मधेसी मोर्चाले अन्ततः भारतले धोका दिएर साथ छोडेको निष्कर्ष निकालेको छ ।

भारतले साथ छाडेपछि आन्दोलन सफल पार्न मधेसी मोर्चाले सहयोगी विकल्प समेत खोज्न सुरु गरेको छ । भारतको सहयोगमा गर्दै आएको नाकाबन्दी र आन्दोलन फितलो भएको भन्दै भारतले बन्द रहेको वीरगंज नाका पनि चाँडै खोल्ने सन्देश दिएपछि मधेशी मोर्चाका नेताहरू अत्तालिएका हुन् ।

आफ्नो एउटा पनि माग पुरा भए बिना नै आन्दोलन समाप्त हुने देखिएपछि राजनीतिक जीवननै धरापमा पर्ने निष्कर्षसहित मोर्चाका शीर्ष नेताहरूले जसरी पनि आन्दोलन जारी राख्न भारतको बिकल्प खोज्नतिर लागेका हुन् ।
भारतले नेपालमा आफ्नो गुमेको साख जोगाउन कुनै पनि बेला मधेशी मोर्चालाई धोका दिन सक्ने संकेत पाएर चिन्तित देखिएका मोर्चाका नेताहरूले उत्तरी छिमेकीलाई गुहारेका छन् । यसै मौकाको खोजीमा रहेको चीनले पनि मोर्चाका नेतालाई महत्व दिन थालेको छ ।

मधेशी मोर्चामा भारतप्रति सबैभन्दा बढी बफादार रहेका महन्थ ठाकुरलाई नै प्रयोग गरेर चीनसंगको आफ्नो सम्बन्ध विस्तारमा मोर्चा लागि परेको छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पहिलेदेखि नै चिनियाँ सम्पर्कमा रहेको र चीनसँग राम्रो सम्बन्ध रहेका नेता हुन् । मधेशी मोर्चामा भारतभन्दा बढी चीन नजिक रहेकोले यसै सम्पर्क र सम्बन्धको फाइदा उठाउँदै फोरम अध्यक्ष यादवले मोर्चाका संयोजकको हैसियतमा तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई भेटघाटको अवसर जुटाई दिएका हुन् । आफू मात्र भेटघाट गरे त्यसको नकारात्मक सन्देश जाने र महन्थ ठाकुरले भेटे भारतलाई साईजमा ल्याउन सक्ने आकलन गर्दै उपेन्द्रले महन्थलाई अगाडि सारेका हुन् ।

दिल्ली भ्रमणबाट संगै फर्केका उपेन्द्र र महन्थले काठमाडौ ओर्लिना साथ चीनसँग आफ्नो सम्पर्क र सम्बन्ध बढाउने निष्कर्षमा पुगेका थिए । महन्थ भन्दा पनि उपेन्द्र यादव भारतीय संस्थापन पक्षसंग असन्तुष्ट रहेको र आफ्नो स्वार्थ सिद्धिका लागि मधेशी मोर्चालाई प्रयोग मात्रै गरिरहेको कुरा उपेन्द्र यादवले आफू नजिकको पार्टीका शीर्ष नेतालाई जानकारी गराएका थिए ।

दिन प्रतिदिन आन्दोलन खुकुलो हुंदै गएपछि र नाकाबन्दीको नाममा पनि उपस्थिति शुन्य हुंदै गएपछि भारतले वीरगंज नाका चांडै खोलि दिने कुरा कुटनीतिक च्यानल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि अवगत गराई सकेको छ । मंगलवार राति नै भारतीय राजदूत रञ्जीत रे बालुवाटार छिरेका थिए ।

त्यसको भोलि पल्ट नै उपेन्द्र यादवले चिनियाँ राजदूत वु चुन्ताई र महन्थ ठाकुर बीच भेटको साईत जुराई दिएका थिए । तमलोपा केन्द्रीय कार्यालय बिजुली बजारमा भएको भेटमा चीनले पहिलो पटक मधेस आन्दोलनप्रति आफ्नो समर्थन जनाएको दाबी गरिएको छ । साथै चीनले आन्दोलनमा आफूले सघाउने संकेत पनि गरेको थियो । भेटवार्ताका क्रममा चिनियाँ राजदूत चुन्ताईले मधेशी नेताहरूको दिल्ली भ्रमणबारे चासो राखेका थिए ।

Comments

comments