मादकपदार्थ सेवन गरी सवारी चलाउँदै गर्दा पक्राउ परेका तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङलाई छुटाउँन माग गर्दै नेपाली कांग्रेस सुनसरी जिल्ला समितिले चक्काजाम गरेपछि शनिबार त्यहाँको  स्थिति तनावग्रस्त बन्यो ।

गुरुङ पूर्वका डनका रुपमा समेत परिचित छन् । पक्राउ गर्ने क्रममा हातपात गरेपछि अहिले गुरुङसहित पक्राउ परेका ५ जनालाई सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाइएको छ ।

पक्राउको विरोधमा हिजो  सुनसरीका धरान, इटहरी, इनरुवामा मुख्य सडकमा नाराबाजी गर्दै उनीहरुले एकघण्टा चक्का जाम गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । चक्काजाम कै कारण धरानबाट पूर्वी पहाड तथा झापा विराटनगर लगायतका स्थानमा जाने गाडी रोकिएका थिए भने हजारौँ यात्रुहरु अलपत्र परेका थिए । नेपाली कांग्रेस समर्थित एक भिडले  धरानको वडा प्रहरी कार्यालय अगाडी समेत चर्को नाराबाजी गरेका थिए ।

भीड उत्तेजित भएपछि प्रहरीले माइकिङ गर्दै आन्दोलन फिर्ता नलिए हस्तक्षेप गर्ने चेतावनी दिएको थियो । प्रहरी प्रशासनको चेतावनीपछि भीड नियन्त्रण भएको थियो ।

Comments

comments