मेलबर्न । अष्ट्रेलियाको सिड्नीमा अहिलेसम्मकै सबैभन्दा ठूलो आँधीको प्रभाव देखिएको छ । सिड्नीको दक्षिणी तटमा आएको आँधीबारे पूर्वसतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ ।

२ सय १३ किलोमिटरको गतिमा आएको आँधी बोन्डाईबाट अघि बढिरहेको विभागले जनाएको छ । आँधीको कारण न्यू साउथवेल्सका विभिन्न ठाउँमा मेघ गर्जनका साथ हुरी आएको छ । आँधीको यो गति सिड्नीमा अहिलेसम्मकै सबैभन्दा धेरै मापन गरिएको मौसम विभागले जनाएको छ । यो आँधी खतरनाक भएकोले सतर्क रहन विभागले आग्रह गरेको हो । विहान पौने बाह्र बजे कयामा बीचमा यस्तो आँधीको संकेतहरु पाइएका थिए ।

दक्षिणी नोरोवा क्षेत्रमा एक घण्टाभित्रैमा १ सय ४४ मिलिमिटर वर्षा भएको छ । अहिलेसम्म कुनै मानवीय क्षतिको विवरण नआइसके पनि कैयौं मानिसहरु आँधीका कारण आफ्नो ठाउँ छोडेर सुरक्षित स्थानतर्फ लागेका छन् । अर्कोतर्फ विहान ९ बजेदेखि अहिलेसम्म मात्रै सेन्ट जर्ज क्षेत्रमा १ सय ४६ मिलिमिटर वर्षा भइसकेको छ ।

आँधीका कारण कुर्नेल क्षेत्रमा ठूलो क्षति भएको बताइएको छ । कयौं घरका छानाहरु उडाइएको छ भने रुखहरु ढलेका छन् । ओलुंगगोंगको उत्तरी क्षेत्रमा रहेका ६ हजार घरमा यही आँधीकै कारण विद्युत आपूर्ति अवरुद्ध भएको छ । अधिकारीहरुले विद्युत सुचारु गर्ने प्रयास सुरु गरिसकेका छन् ।

Please follow and like us:

Comments