काठमाडौं । कान्तिपुर टेलिभिजनबाट ग्ल्यामर क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री निशा अधिकारी अब निर्देशक बनेकी छिन् । उनले म्युजिक भिडियोबाट आफ्नो निर्देशन यात्रा शुरु गरेकी हुन् ।

निशाको निर्देशन रहेको नवोदित गीतकार जनक पहारीको जलेर खरानी भएँ… गीतको भिडियोको आइतवार छायांकन सम्पन्न भएको छ । निशाले आफ्नो पहिलो म्यूजिक भिडियोमा अभिनेता गजित विष्ट र अभिनेत्री मेनुका प्रधानको जोडीलाई अभिनय गराएकी छिन् । म्युजिक भिडियोको कोरियोग्राफीमा निशालाई कोरियोग्राफर गम्भीर विष्टले सघाएका छन् ।

‘म राम्रो गीतको भिडियोबाट निर्देशनमा उत्रने पक्षमा थिएँ । जनकजीको गीत निकै कर्णप्रिय लागेकाले यसै गीतबाट आफ्नो निर्देशन यात्रा सुरु गरेकी हुँ।’निशाले बताइन् । उनको म्युजिक भिडियो मात्र निर्देशन गर्नु आफ्नो उद्देश्य नभएको प्रष्ट पार्दै म्युजिक भिडियोपछि लघु चलचित्र हुँदै चलचित्र नै निर्देशन गर्ने योजना पनि रहेको सुनाइन् ।  सन् २०१७ सम्म आफूले निर्देशन गरेको चलचित्र आइसक्ने निशाले बताइन् ।

आफू हचुवाको भरमा चलचित्र निर्देशनमा लाग्न नचाहेको उनले प्रष्ट पारिन् । अमेरिकामा गएर आफूले चलचित्र निर्देशन सम्बन्धी नै अध्ययन गरेको जानकारी दिदै निशाले पढेको कुरालाई व्यवहारमा उतार्न आफू निर्देशनमा लाग्न चाहेको बताइन् । यसो भन्दैमा आफूले अभिनय नछाडेको उनले बताइन् । चलचित्र अभिनयलाई पनि निरन्तरता दिने पक्षमा उनी छिन् । हाललाई आफूले चलचित्रमा अभिनेत्रीको रूपमा काम गरे पनि म्युजिक भिडियो र लघु चलचित्र निर्देशनलाई निरन्तरता दिने पनि उनले बताइन् ।

ताराप्रकाश लिम्बूको संगीत, शिव परियारको स्वरमा रहेको आफ्नो यो गीतको भिडियो राम्रो बनेको गीतकार जनकको भनाइ थियो । निर्देशक निशाले राम्रो काम गरेको भन्दै उनले प्रशंसा पनि गरे ।

nisha

Comments