काठमाडौँ  । भारतले अघोषितरुपमा जारी राखेको नाकाबन्दीको विरोधमा व्यवस्थापिका–संसद्मा छलफल गर्न माग गर्दै केही सांसदले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।

यसअघि भारतको माथिल्लो सदन राज्यसभामा नेपालमा गरिएको नाकाबन्दीको विषयमा छलफल भैसकेको छ  । राज्यसभामा सांसदहरूले भारतीय सरकारको चर्को आलोचना गरेका थिए  ।

व्यवस्थापिका–संसद् सचिवालयमा सांसदहरु लक्ष्मण राजवंशी, शिवलाल थापा र जयदेव जोशीले सो प्रस्ताव शुक्रबार संसद् सचिवालयमा दर्ता गराउनुभएको हो ।

भूपरिवेष्ठित राष्ट्रले पाउने पारवहन सुविधाको उल्लङ्घन हुने गरी विगत तीन महिनादेखि भारतले इन्धन, औषधिलगायतका अत्यावश्यकीय सामग्रीको आयातमा रोक लगाएको उल्लेख गर्दै सांसदले नेपाली जनताको सार्वभौमसत्ता, अखण्डता र स्वाधीनतामाथि ठाडो हस्तक्षेप भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा उल्लेख गरिएको छ ।

उनीहरुले सचिवालयमा दर्ता गराउनुभएको सो प्रस्तावलाई अविलम्ब सदनको कार्यसूचीमा समावेश गरी पारित गराउनसमेत आग्रह गरेका छन् ।

सदन नखुल्दा भारतको अघोषित नाकाबन्दी संसद्मा प्रवेश पाएन भनेर आलोचना भएको थियो । रासस

Comments

comments