–रिया भण्डारी

स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयले असहाय र बिपन्न नागरिकलाई स्वास्थ्य उपचारमा सहज होस् भन्ने उदेश्यले स्वास्थ्य बिमा लागू गर्ने भएको छ । स्वास्थ्य विमामा सहभागी हुने व्यक्तिले अब ६६ प्रकारका रोगमा ५० हजार बराबरको उपचार सुविधा पाउनेछन् । त्यसका लागि प्रति परिवार २ हजार ५ सयको दरले प्रिमियम बुझाउनुपर्ने छ ।

स्वास्थ्य बीमा यसै आर्थिक बर्ष देखि इलाम, बाग्लुङ र कैलाली जिल्लामा नमूनाको रुपमा सुरु गर्न लागिएको स्वास्थ्य मन्त्री रामजनम चौधरीले बताउँनुभएको छ ।  अहिले नेपालीहरुले स्वास्थ्य उपचार मा ठूलो रकम खर्च गर्दै आएका छन् । साथै कैयौं नागरिकहरु कतिपय स्वास्थ्य स्थितिमा स्वास्थ्य उपचारमा पहुँच नपुगेर उपचारबाट नै बन्चित बन्दै आएका छन्  । अस्पतालमा पुगेका कतिपयहरु पनि उपचार गर्ने खर्चको अभावमा छट्पटाएको अबस्था छ । यस्तो अवस्थाकाबीच सरकारले लागू गर्न लागेको स्वास्थ्य बिमाले नागरिकले सामान्य झाडापखालादेखि एपेन्डीसाइटको अप्रेसनसम्मको उपचार निशुल्क पाउनेछन् । स्वास्थ्य विमा लागू भएपछि नागरिकले स्वास्थ्य उपचारको हकबाट बन्चित हुनु नपर्ने स्वास्थ्यमन्त्री रामजनाम चौधरीले बताउनुभयो ।

स्वास्थ्य बिमाको लागि एक परिवारमा ५ जना सदस्यको कल्पना गर्दै प्रति सदस्य ५ सय रुपैयाको दरले २ हजार ५ सय प्रिमियम बुझाएर ५० हजार बराबरको उपचार व्यवस्था गरेको हो । तर पाँच भन्दा बढी सदस्य भएका परिवारले प्रति सदस्य चार सय ५० को दरले थप प्रिमियम बुझाएपछि  थप १० हजार बराबरको उपचार दिने व्यवस्था छ । बीमाका  लागि अति विपन्न परिवारको सत प्रतिशत प्रिमियम सरकारले बुझाउने व्यवस्था छ । त्यस्तै गरिब परिवारका लागि ७५ प्रतिशत र जोखिममा परेका परिवारको लागि ५० प्रतिशत प्रिमियम सरकारले सहयोग गर्ने छ । उपचारका लागि छुट्टयाइएको ५० हजार रुपैयाँ रोगको पहिचान, परीक्षण, औषधि, भर्ना, बेड चार्जमा खर्च गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अन्तराष्ट्रिय मुलुकहरुमा हरेक नागरिकको स्वास्थ्य बिमा गरिएको हुन्छ र नागरिकको स्वास्थ्यको जिम्मेवारी सरकारले लिएको हुन्छ ।  तर नेपालमा भने जीवनरक्षक औषधि किन्न समेत नपाएका नागरिकले स्वास्थ्य बिमाको निशुल्क उपचार कल्पनामा मात्र सीमित रहँदै आएको छ । तर ढिलाइ भए पनि सरकारले नागरिकको स्वास्थ्य विमाको कल्पनालाई यथार्थमा पूरा गर्ने योजना ल्याएको हो ।

Comments

comments