-मनोज पौडेल

जस्तो तिमी नेपालबाट देख्छौ नि त्यस्तो सजिलो छैन बिदेश। फोटोमा राम्रा ठाटिएका, राम्रा आकर्षणका केन्द्रहरुमा बिभिन्न पोजमा राखेका तस्बिरले त्यति  सजिलै मुल्याङ्कन नगर, तिमीले सोचेको र सुनेको भन्दा पुरै पृथक छ यथार्थमा यो सात समुन्द्र पारीको बिदेश।

मैलेनी ठुलै सपना बुनेर आमाको काख अनि जननीलाई गलहत्याएर जिवनमा पहिलो चोटी स्वावलम्बी बन्ने आशा अनि भरोसामा हवाईजहाजमा पाईला टेकेको थिए। गगनचुम्बि घरमा बसिन्छ होला, योग्यता अनुसारको काम पाईन्छ हाला तर त्यो भन्दा धेरै फरक जून मेरो मानसपटलले कल्पना समेत गर्न सकेको थिएन। काम पाउनु त दुरको बाटो कसरि काम खोज्ने त्यो नै अनबिग्य थिएँ म । रेजुमे बाँड्नु पर्छ भन्थे यहाँका पुराना रैथाने भनौदाहरु, खुब बाँडियो रेजुमेपनि, बिरलै होलान मेल्बर्नका रेस्टुरेन्ट र क्याफे जहाँ रेजुमे नपुगेको होस। कोहिले रेजुमे लिन्थे भने कोहीले त परैबाट नो नो भनेर रिजेक्ट गर्थे। काम पाउने झिनो आश मनमा साँचेर थकित मुद्रामा घर फर्किनु दिन चर्यानै बनेको थियो।

यस्ता विभिन्न आरोह अबरोहहरुलाई पन्छाउनु अनि कलेजको फि व्यबस्थापन गर्नु अर्को जटिल र टड्कारो बिषय थियो। घरको एक्लो छोरोको खातिर घरपनि हेर्नु पर्ने आफैमा बाध्यात्मक परिस्थिति नै थियो। आमासँग फोनमा कुरा हुँदा काम पाईस भन्नु हुन्थ्यो, आँखा भरि आँसु  पारेर पाएँ भन्नु बाहेक अरु कुनै बिकल्प हुँदैन थियो।

मेल्वर्नको महङ्गीमा कतिका रात त ग्यारेजको चिसो भुईमा बिते होला अनि कति रात कामबाट अबेर हुँदा फिल्नडर् स्टिर्टको चिचो सिरेटोमा बिते होला। ट्रेनमा नेपाली साथी भेटिन्थे तर बोल्न धेरै गार्हो हुन्थ्यो।कोहि त नेपालीमा बोल्न पनि लाज मान्थे । कति साथी बनाइएँ लेखा जोखा छैन। कोही साउनको खहरे बनेर आए, आफै बडालिए। कोही साथी अविस्मरणीय भएर मेरो मनमन्दिरमा रहिरहे र रहिरहने छन् पनि। किचन् हेन्ड ठेट नेपालीमा भाँडा माज्ने देखि बेल्चा हान्ने अनि हाउसकिपीङ सम्म कुनै कामपनि बाँकि रहेनन्। काम गर्नु गर्वको कुरा हुन्थ्यो। कामको बर्ग बिभाजन नभएको अनि कामको कदर भएको देश भएर पनि हुनसक्छ मलाई काम गर्न कुनै लाज लग्दैन थियो। मेनेजरको भन्दा प्लम्बरको आम्दानी धेरै भएकोले नि हुन सक्छ मलाई कुनै आत्मग्लानी भएन। आँखा मिच्दै झिस्मिसेमा उठ्नु अनि थकित् मुद्रामा राती अबेर घरमा पुग्नु म जस्ता धेरै साथीहरुको दिनचर्यानै भई सकेको थियो।

हो, आज म यहि परदेशको बास्तविक तितो यथार्थ जो प्राय हामी सवैसँग मेल खान्छ, तेहि लेख्दैछु। हामी अरुको देखासिकी गर्ने मान्छे, पुजिँ न सुँजि देखाउँछ … भनेको जस्तो हामीलाई नै क्लब र बार अनि क्यासीनो धाउनु पर्ने, अलि अलि बनाएको पैसापनि विकेन्डमा स्वाहा, कुनै खैरे हप्ता भरि काम गर्छ अनि विकेन्डमा बार र क्लब जान्छ अनि सक्छ। हो तेसको देखासिकीमा हामीपनि लाग्यौ, बिर्सेयौ आफ्नो बास्तबिक धरातल र यथार्थ।पौडी खेल्न नजान्दा नजान्दै समुन्द्र तटमा हामफाल्ने हामी, के थाहा काल त्यहि लुकेर बसेको छ भनेर। केहि साथीलाई गुमायौ पनि ! शरीरको कुनै परबाह नगरिकन दिन रात काममा जोतिएर कल्कलाउँदो, लाउँलाउँ खाउँखाउँ भन्ने बेलामा कति त हामी माझबाट अस्ताईसके भने कोही मृतुको प्रतिक्क्षामा बसिरहेका छन्। यस्ता कैयौं घटनाहरु छन् जसले हामीलाई थोरै भएनी पाठ सिकाउने प्रयास गरेको छ।

आज बिदेसको भूमीमा पाईला टेकेको धेरैबर्ष बिती सक्यो, समय अनुसार म भित्र धेरै परिबर्तनहरु भए। धेरै सकारत्मक त केहि नकारत्मक। बिदेसले मलाई एक स्वाभलम्बी बन्न सिकायो, परिस्थिती अनुसार चल्न सिकायो अनि भोलीको लागि मार्गनिर्देशकका बाटाहरु प्रसस्त खडा गर्देको छ ।म आज जहाँ छु त्यो मेरो बिगतको त्याग, परिस्रम, मेहिनेत र आफु भन्दा ठुलाले दिनु भएको मार्ग निर्देशकनै मुख्य कडि हो।

म त केबल माध्यम मात्र हूँ। पात्रहरु जो कोही नि हुन सक्नु हुन्छ। यथार्थ यहि हो विदेशको, जो भित्र तितो बास्तबिकता धेरै लुकेको हुन्छ। पर्दा बाहिर कति रङ्गिन लाग्छ जिन्दगी, पर्दा भित्र श्याम श्वेतमा अनगिन्ती हन्डरहरु झेल्नु परेको के थाहा हुन्छ र मूल्यांकन गर्छौ अनि कति सजिलै भन्छौ-तलाई त क्या मोज छ है भनेर ?

(तपाई पनि आफ्नो अनुभव लेखेर पठाउँनसक्नुहुन्छ । तपाई अभिव्यक्त मात्र गर्नुहोस्,हामी पुनर्लेखन गरेर पाठकसम्म पुर्याइदिन्छौं । सम्पादक )

Comments