काठमाडौँ । आफ्नो चलचित्र नचल्दा सम्बन्धित निर्माता, कलाकारको मन दुख्नु स्वाभाविकै हो। यस्तै चलचित्र चकलेट नहेरिदिएको झोकमा अभिनेत्री पुजना प्रधानले दर्शकमाथि आक्रोश पोखेकी छिन्।

आफूले राम्रो फिल्म बनाएको दाबीसहित सो फिल्म नहेरिदिएको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत दर्शकमाझ आक्रोश पोखेकी हुन्। यी अभिनेत्रीले दर्शकसँग आउँदा दिनमा सामाजिक सञ्जाल फेसबुकमार्फत् कुराकानी नगर्ने र फेसबुकसमेत नचलाउने घोषणा गरेकी छन् । यी अभिनेत्रीले आफ्नो चलचित्र रिलिज हुनुभन्दा अघि चलचित्र ‘कबड्डी कबड्डी’को वितरण पक्षले आफूलाई चकलेट रिलिज नगर्न दबाब दिएको आरोप लगाएकी थिइन्। त्यतिबेला उनले आफ्नो फिल्म चकलेट निकै राम्रो भएको र दर्शकले यसलाई मन पराउने बताएकी थिइन्।तर, चलचित्रले दर्शक तान्न सकेन। त्यसैले आक्रोश पोख्दै उनले सामाजिक सञ्जालमा लेखेकी छन्,

‘तपाईंहरूले हेरिदिनु भएन। त्यसैले चकलेट चलेन। नेपालीलाई राम्रो कथा राम्रो फिल्मभन्दा हावाको कथा भएको फिल्म नै मन पर्दोरहेछ।’ उनले अगाडि लेखेकी छन्, ‘मैले राम्रो मनले राम्रो कामका लागि फिल्म बनाएँ तर तपाईंहरूको साथ पाइनँ।’

यी अभिनेत्रीले अनाथ बालबालिकाका लागि घर बनाउन फिल्म निर्माण गरेको दाबी गर्दै आएकी छन्। ४० लाख खर्चेर फिल्म बनाउनुभन्दा सो पैसाले नै अनाथ बालबालिकाका लागि घर किन नबनाएको भन्दै यी अभिनेत्रीको टीका–टिप्पणी सुरु भएको छ। सामाजिक सेवाका लागि नभएर चलचित्र व्यापारका लागि बनाइन्छ। दर्शकले उनको फिल्म नहेरिदिएपछि यी अभिनेत्रीले सामाजिक कामका लागि फिल्म बनाएको बताउँदै आएकी छन्। आफ्नो चलचित्र नचलेको ठहरसमेत यी अभिनेत्रीले गरेकी छन्।

Comments

comments