मेलबर्न । मेलबर्न अन्तराष्ट्रिय विद्यार्थीहरुका लागि अष्ट्रेलियाकै उत्कृष्ट शहर बन्न सफल भएको छ । यति मात्र होइन मेलबर्न विश्वका उत्कृष्ट शहरको दोस्रो रोजाइमा पर्ने टोक्यो,सिड्नी र लण्डनसँगै विदेशी विद्यार्थीहरुको रोजाइमा पर्दछ । फ्रान्सको पेरिस विदेशी विद्यार्थीहरुको पहिलो रोजाइमा पर्दछ ।

शहरहरुको जीवन शैली,त्यहाँ उपलब्ध रहेका विश्वविद्यालय,तिनका शुल्क,उपलब्ध रोजगारी र विद्यार्थी समुदायलाई आधार बनाएर यो प्रतिवेदन सार्वजनिक गरिएको हो । विश्वका विद्यार्थीहरुको रोजाइमा पर्ने ७५ शहरहरुमध्ये अष्ट्रेलियाको सिड्नी चौथौ,क्यानबेरा सत्रौं,व्रिसबन अठारौं,एडेलेड छब्बिसौं,पर्थ पैत्तीसौं र गोल्ड कोष्ट शहर ६९ औं स्थानमा परेका छन् । मेलबर्न भने सयमा सय अंक प्राप्त गर्दै दोस्रो स्थानमा परेको हो । यसमा विद्यार्थीहरुको संख्या,सामाजिक समावेशीता र सहनशीलतालाई पनि आधार बनाइएको छ । तर महँगो ट्युशन शुल्क र जीवनशैली भने अष्ट्रेलियाका शहरहरुको नकरात्मक पक्ष रहेको अध्ययनमा सहभागी विद्यार्थीहरुको प्रतिक्रिया थियो ।

मेलबर्न विद्यार्थीहरुको रोजाइमा पर्नुमा यहाँको ग्लोबल नेटवर्किङ प्रमुख कारण रहेको एक भारतीय विद्यार्थीले बताए । यहाँ विश्वका प्राय सबै मुलुकका विद्यार्थी भेट्न पाइने उनले बताए । यस्तै यहाँको नाइट लाइफ र सामाजिक सुरक्षा पनि सन्तोषप्रद रहेको उनले बताए ।

युनिभर्सिटी अफ मेलबर्नका सह चान्सलर प्राध्यापक सुशन इलियटले यो तथ्यांकले मेलबर्न कति विश्वस्तरीय छ भन्ने पुष्टि भएको बताए ।

मेलबर्नका लर्ड मेयर रोबर्ट डोयलका अनुसार मेलबर्नमा हाल ३० हजार जना अन्तराष्ट्रिय विद्यार्थीहरु रहेको बताए । उनीहरु सय भन्दा बढी देशका प्रतिनिधि भएको पनि उनले दाबी गरे ।

सीप तथा क्षमता प्रशिक्षण मन्त्री स्टेभ हर्वटका अनुसार यी विद्यार्थीहरुबाट भिक्टोरियालाई कालान्तरसम्म पनि फाइदा पुग्नेछ । किनभने जब यी विद्यार्थीहरु आ आफ्नो देश फर्कनेछन् तब उनीहरुले यहाँको विशेषताका बारेको सकरात्मक सन्देश पनि सँगै लैजानेछन् र आफ्ना साथीभाइहरुलाई मेलबर्न बस्न र अध्ययन गर्न उपयुक्त गन्तव्य भएको जानकारी गराउँनेछन् । यसले मेलबर्न र भिक्टोरियाको छवि राम्रो बन्दै गएको छ । साथै उनले मेलबर्नबाट अध्ययन गरेर गएकाहरु मध्ये धेरै जना आफ्नो परिवारसँग भ्रमणका लागि र केही विजनेश गर्नका लागि समेत पुनः मेलबर्न नै फर्केर आउँने गरेका छन् ।

मेलबर्नमा विश्वका उत्कृष्ट ७ विश्वविद्यालयहरु रहेका छन् ।

Comments

comments