काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाल भारत सीमा नाकाको अवरोध छिट्टै खुल्ने संकेत गर्नुभएको छ ।

नाकामा बसेका आन्दोलनकारीलाई गोली हानेर वा लखेटेर नभइ राजनीतिक सहमतिका आधारमा हटाउनु पर्ने उहाँको भनाई छ । सोमवार भारतीय राज्यसभामा नेपालबारेको वहसमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले ईश्वरले चाहेमा यो समस्या चाँडै समाधान हुने र नाकाको अवरोध पनि हट्ने बताउनुभयो । उहाँले भारतले राजनीतिक सहमतिका आधारमा मधेसमा उत्पन्न समस्या समाधान गर्न जोड दिइरहेको बताउनुभयो ।

मधेसी दलले गरेको नाकाबन्दी खुल्ने वित्तिकै नेपाल छिर्न सकुन भनेर ११ हजार ट्रक सामान रक्सौलमा तयारी अवस्थामा रहेको पनि उहाँले दाबी गर्नुभयो । मधेसी मोर्चाका नेतासँग भएको भेटमा आफूले नेपाल सरकारसँग वार्ता गरेर समस्याको समाधान गर्न आग्रह गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भारतले नेपालमा नाकाबन्दी नलगाएको दाबी समेत गर्नुभयो । उहाँले नेपाल सार्वभौम मुलुक भएको र भारतले नेपालमाथि कुनै हस्तक्षेप तथा नाकाबन्दी नगरेको बताउनुभयो । तर उहाँले त्यसअघि नै घुमाउरो पाराले नाकाबन्दी लगाएको कुरा स्वीकार गर्नुभएको थियो । कांग्रेस आइकी सांसद रेणुका चौधरीले यसअघिका सरकारले नेपालसँग सुमधुर सम्बन्ध बनाएको तर अहिलेको सरकारले नाकाबन्दी गरेर सम्बन्ध विगारेको बताएपछि विदेशमन्त्री स्वराजले त्यसको प्रतिवाद गर्दै यसअघि सन् १९८९ मा पनि नाकाबन्दी भएको बताउनुभएको थियो ।

भारतको माथिल्लो सदन राज्यसभामा नेपालमा भएको नाकान्दीको भारतीय सांसदले चर्को विरोध गरेका थिए । संसदमा विभिन्न दलका सांसदले नाकाबन्दीका कारण नेपालमा मानवीय संकट बढेको, नाकाबन्दीकै कारण संयुक्त राष्ट्रसंघीय बालबोष युनिसेफले गरेको नेपालका पाँच वर्षमुनिका ३० लाख बालबालिकाको जीवन जोखिममा परेको टिप्पणीप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका थिए ।

Comments