काठमाडौं । स्नातक पहिलो वर्षको परिक्षाको तयारी गर्दै थिइन्, रिश्मा गुरुङ । पढाइबाहेक अरू खास काम थिएन उनको । घरमै थिइन् । लभ्ली पोखरा डटकमबाट फोन आयो ।‘तिमीलाई एउटा फिल्मबाट हिरोइन बनाउने प्रस्ताव आएको छ, भेट्नुपर्यो ।’‘म खेल्दिनँ फिल्मसिल्म ।’

यति भनेर उनले फोन राखिन् । लभ्ली पोखरा डटकममा गरेको फोटोसुट हेरेर निर्देशक रामबाबु गुरुङले उनलाई हिरोइन बनाउन प्रस्ताव गरेका रहेछन् ।

‘त्यति खेर मेरो दिमागमा नेपाली फिल्मप्रति पोजिटिभ थिङकिङ नै थिएन, त्यसकारण मैले सिधै फिल्म नखेल्ने कुरा गरें’ उनले भनिन् । पोखराकी स्थायी बासिन्दा रिश्मा कलेज, घरको सामान्य काम र बाँकी समय पढेरै बिताउँदै थिइन् । उनका मामा निर्देशक माओत्से गुरुङको फोन आयो ।‘भान्जी एकजना डाइरेक्टरले तिम्लाई भेट्न खोजेका छन्, एकपटक जसरी पनि भेट्नु पर्यो ।’ ‘फिल्मकै कुरा होला म भेट्दिनँ ।’ उनले त्यही कुरा दोहोर्याइन् ।

‘प्लिज भान्जी एक पटक मेरो मन त राखिदेऊ । एक पटक भेटेर कुरा गर्दा के बिग्रन्छ, फिल्म खेल्ने नखेल्ने कुरा पछि गरौंला ।’ मामाले कर गरेपछि नाइँ भन्न सकिनन् र निर्देशकलाई भेटन गइन् । त्यही दिन अडिसन दिएर आइन् ।

फेरि एक हप्तापछि फोन आयो । ‘तिमी अडिसनमा पास भयौ, अब वर्कसपका लागि काठमाडौं जानुपर्छ ।’१२ दिनसम्म वर्कसपमा भाग लिएपछि थाहा पाइन्, अभिनय सोचेको भन्दा भिन्न रहेछ । सामान्य तर जटिल जस्तो ।

‘कबड्डी’का दुई शृंखलामा र तिन भाषिक फिल्ममा काम गरेकी रिश्माको अर्को एउटा फिल्म प्रदर्शन हुन बाँकी छ, ‘झुम्की’ । नेपाली स्वाद आउने फिल्ममा मात्रै अभिनय गर्ने योजनामा रहेकी रिश्मालाई तडकभडक पटक्कैमन पर्दैन । उनी भन्छिन्, ‘जुन फिल्ममा नेपालीपन देखिन्छ, त्यो फिल्ममा मात्रै काम गर्छु ।’ उनका बुबा उनको कामबाट खुसी छन् । तर, दुईटा कुरा बारम्बार भन्छन्

‘पढाइ नछाड्नू र इज्जत नफाल्नू ।’ इज्जत नफाल्नू भन्नुको अर्थ जस्तोसुकै फिल्म नखेल्नू भनेको बुझेकी छन् उनले । आज हिरोइनका रूपमा चिनिनुको जस उनी निर्देशक रामबाबु गुरुङलाई दिन चाहन्छिन् । रामबाबुले पटकपटक आग्रह गर्दा पनि भागेकी रिश्मा रामबाबुकै जोडबलले नायिका बनेकी हुन् ।‘आज मलाई यो स्थानमा ल्याउन रामबाबु दाइको निकै ठुलो हात छ,’ उनले भनिन् ।

Comments

comments