चितवन ।  नेकपा (एमाले) ले तराईमा भइरहेको आन्दोलन र वर्तमान समसामयिक विषयमा पार्टीको थप  धारणा तय गर्न र तराइमा सबिधान उपर फैलाइएको भ्रम चिर्न सोमबारदेखि चितवनको सौराहामा राष्ट्रिय भेला गर्दै छ ।

व्यवस्थापनको जिम्मेवारी लिएको  एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाले अहिलेको परिवेशमा आज  हुन लागेको भेला राष्ट्रिय महत्वको भएको र  सबै तयारी पूरा भइसकेको जानकारी दिएका छन । आज सोमबार बिहान ११ बजे भेलाको उद्घाटन एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।

आजदेखि नै केन्द्रीय नेता र सहभागी चितवन आइसकेका छन । पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल, प्रचार विभाग प्रमुख योगेश भट्टराई, कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ लगायत केन्द्रीय नेताहरु  चितवन आइसकेका छन भने प्रधानमन्त्री सहित अन्य नेताहरु आजै चितवन आउने कार्यक्रम रहेको छ ।

भेलामा पार्टीका केन्द्रीय पदाधिकारी तथा स्थायी कमिटीका सदस्यसहित तराईका २२ जिल्लाका अध्यक्ष, जिल्ला इन्चार्ज, केन्द्रीय सदस्य, सांसद तथा केन्द्रीय विभागका सम्वन्धित क्षेत्रका पदाधिकारी सहित दुई सय ३५ जनाको सहभागिता रहने छ ।

दुईदिने भेलाले हाल तराईमा देखिएको राजनीतिक अस्थिरता, संविधान कार्यान्वयनमा देखिएका समस्या, सङ्घीयताको विवाद लगायत विषयमा छलफल गरी ठोस धारणा बनाउने वैकल्पिक केन्द्रीय सदस्य एवं चितवन जिल्ला इन्चार्ज कृष्ण खनालले जनाएका छन  । भेलापछि सौराहा घोषणापत्र जारी गर्दै पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने छ  ।

Please follow and like us:

Comments