काठमाडौं । भारतले अघोषित नाकाबन्दी हटाउने संकेत दिएपछि सरकारले आज आन्दोलनरत मधेसबादी दलहरुसँग निर्णायक वार्ता गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच टेलिफोन संवाद भएपछि सरकार नाकाबन्दी हट्नेमा आशाबादी भएको छ ।

समानुपातिक समावेशी सिद्धान्तलाई अंगिकार र जनसंख्याका आधारमा निर्वाचन प्रणाली बनाउने सहितको संविधानको संशोधन प्रस्ताव अघि बढाउन सत्तारुढ दलहरु सहमत भएपछि मधेसबादी दलहरु पनि वार्ता सार्थक हुनेमा आशावादी देखिएका छन् । मधेस मोर्चासँगको वार्ता निर्णायक भएपछि नाकाबन्दी खुल्ने अपेक्षा प्रधानमन्त्री ओलीले गरेका छन् ।

तीन दिने भारत भ्र्रमण सकेर फर्केका परराष्टमन्त्री कमल थापाले भारतीय पक्ष नाकाबन्दी खोल्न सकारात्मक भएको जानकारी दिएपछि विहीबार नै मन्त्रीपरिषदको बैठक बसेको थियो । भारतले पठाएका तीन मुख्य सर्तमा पनि सरकार सहमत भएको छ ।

Comments