काठमाडौँ । जबरजस्ती करणीको मुद्दामा कारागार बसेका माझीगाउँ गाविस मेल्तडी घर भएका भरत रावलले मंगलबार आफूलाई मनपरेकी युवती गाउँबाट बोलाएर कारागारभित्रै विवाह गरेका छन्।

माझीगाउँ गाविस २ घर भएकी पूजा थापासहित दुलही र दुलाहा पक्षका आफन्त आएर भरत र पूजाको कारागारमा बिहे गरिएको हो।

‘छोरा भरतसँग पूजाको प्रेम सम्बन्ध रहेछ’, दुलाहाका बुबा मोहनबहादुर रावलले भने, ‘फोन गरेर हामीलाई विवाहको कर्मकाण्ड गरिदिनुपर्‍यो भनेर बोलाइयो। हाम्रो संस्कारअनुसार विवाह गरिदियौं।’

साना दुई भाइ साथमा लिएर सदरमुकाम आएकी पूजालाई आफन्तले कारागारमा लगेपछि जेलभित्रबाट भरतलाई बाहिर निकालियो र आधा घन्टामा विवाह सकियो। विवाह भएपछि भरतलाई पुनः जेलभित्र र दुलहीलाई बाहिर ल्याइएको थियो।

कारागारमा भएको विवाहमा कैदी भरतले पूजाको शिरमा सिन्दुर र औंलामा औंठी लगाइदिए। टीकाटालो गरी ब्राह्मणले विवाह सकिएको संकेत गर्दा आफन्तले ताली बजाएका थिए । विवाह भई हात मिलाएर बिछोड हुँदा दुलाहादुलही दुवैका आँखा रसाए।

Comments

comments