धनगढी  । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान देशव्यापी रुपमा मनाइ रहँदा कैलालीमा यातना पीडित एक वृद्धाको निधन भएको छ ।

अढाई वर्ष अगाडि आफ्नै आफन्तहरुबाट बोक्सीको आरोपमा यातना पाएकी कैलालीको अत्तरियानगरपालिका स्थित बेलादेवीपुरकी राजकुमारी रानाको निधन भएको हो । ६ दिनदेखि बेहोस उनको आफ्नै घरमा निधन भएको जनाइएको छ । २०६९ चैत २४ गते बोक्सीको आरोपमा अमानवीय तरिकाले उनलाई यातना दिइएको थियो ।

सो घटनाबाट पीडित उनको आर्थिक अभावमा पूर्ण उपचार हुन नसकेपछि समय–समयमा बेहोस हुने समस्या रहि आएको मृतकका छोरा दरवारी रानाले बताउनुभयो । अढाई वर्ष अगाडि मृतककै आफन्त पर्ने निरा राना, रामकुमारी राना, रामसिंह राना र धर्मसिंह रानाले अमानवीय तरिकाले कुटपिट गर्दै मलमूत्र समेत खुवाएका थिए ।

बोक्सी लागेको भन्दै पीडकले राजकुमारीलाई रातभरी रुखमा बाँधेर गुम्ताङ समेत क्षतविच्छेद हुने गरी यातना दिएका थिए । घटनाका दोषी रामसिंह राना र धर्मसिंह राना अझै फरार रहेका छन् भने निरा र रामकुमारी रानालाई तत्कालै प्रहरीले पक्राउ गरी कारबाही गरेको छ ।

Comments

comments