झट्ट हेर्दा स–साना गुच्चाजत्रा, वनमा त्यसै खेर जाने कुफलजस्तो। मूल्यले भने सुनझैं महत्ववान।

तामाङ समुदाय र विशेषगरी तिब्बती समाजमा धार्मिक एवं सांस्कृतिक प्रयोगमा आउने एक प्रकारको वनस्पति बोधिचित्त (बोलीचालीमा बुद्धचित्त) मालाको बजारमूल्यले यसको महत्व मात्र बढाएको मात्र छैन, काभ्रे जिल्लाका तिमाल क्षेत्रका किसान र व्यवसायीको जीवन नै समृद्द बनाउदै छ  ।

काभ्रेका शिखरअम्बोटे र तिमाल क्षेत्रका केही गाविसमा मात्र फल्ने मालाले अहिले एक सिजनमा एकै घरले करोडौ रुपैयासम्म आम्दानी गरिरहेका  छन्।

जिल्ला वन कार्यालयले शिखरअम्बोटे र तिमाल क्षेत्रका विभिन्न गाविसलाई यस प्रजातिको पकेट क्षेत्र मानेको छ। बोधिचित्त फलाउने किसानले सानो साइजको दाना भएको मालालाई प्रतिकिलो ५ हजार रुपैयाँसम्म पाउने गरेको छ। बिचौलियाले यसलाई अझ बढाउँछन्  ।

लामा गुरु र तामाङ समुदायले जपध्यान गर्न बोधिचित्त माला उपयोग गर्छन्। उत्पादन हुने गाउँमा २ सय देखि ५ हजार रुपैंयासम्ममा कारोबार हुने बोधिचित्त माला काठमाडौं हुँदै चीनसम्म पुग्ने गरेको छ। चीनमा पुग्दा सबैभन्दा सानो साइज ८ मिलिमिटरको एउटा मालाको १ देखि डेढ लाखसम्म पाउने व्यवसायी बताउँछन्।

जिल्ला वन कार्यालयका प्रमुख गणेश रायका अनुसार काभ्रेका तिमाल र आसपासका गाउँमा फल्ने बोधिचित्त बयर प्रजातिको फल हो। हालसम्म ती स्थानमा निजी आवादीमा मात्रै केही संख्यामा यस्ता रुख छन्।
वन ऐनको अनुसूचीमा समावेश नभएकाले जिल्ला वन कार्यालयले राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशाला, गोदावरीले परिभाषित गरे अनुसार ‘बोलचालीको भाषामा बोधिचित्त भनिए पनि यो भद्राक्ष प्रजाति हो। यसको वानस्पतिक नाम ‘जिजिफस स्पेसी’  हो।

प्रत्येक मालामा १ सय ८ वटा दाना राखिन्छ।

भदौमा मात्रै फल टिप्ने गरेको स्थानीयले माग आएपछि दाना परिपक्व नहुँदै टिप्न थालेका छन्। यस्तो दानालाई उनीहरुले ढिकीमा फलेर बोक्रा निकाल्ने गरेका छन्। घाममा राम्ररी सुकेको दानालाई मेसिनले प्वाल पार्दै माला बनाउछन् ।

विगतमा तिमालक्षेत्रमा मात्रै पाइने बोधिचित्तको बिरुवा जिल्लाका अन्यत्रसमेत लगाउन थालिएको छ। बजारमा २ सय देखि ५ सय रुपैयाँमा यसको बिरुवा बिक्ने गरेको छ।

Comments

comments