काठमाडौं । तीन महिनाभन्दा लामो समयदेखिको मधेस आन्दोलन र भारतले लगाएको नाकाबन्दीपछिको मुलुकको आर्थिक अवस्थाका बारेमा सरकारले श्वेतपत्र जारी गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले मंगलबार साँझ अर्थमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेर श्वेतपत्र जारी गर्नुभएको हो ।

श्वेतपत्र जारी गर्दै अर्थमन्त्री पौडेलले नाकाबन्दीका कारण आपूर्तिमा निरन्तर अवरोध हुँदा चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ६ प्रतिशत रहने लक्ष्य राखिएकोमा ३ प्रतिशतमा खुम्चिने प्रक्षेपण गर्नुभयो । अर्थमन्त्री पौडेलले जीवन रक्षाका लागि अत्यावश्यक दैनिक उपभोगका बस्तुहरुको आपूर्ति नहुँदा जनजीवन कष्टकर भएको उल्लेख गर्दै मानवीय संकटको अवस्था उत्पन्न भएको बताउँनुभयो । मुलुक र जनताले अहिले कल्पना नै नगरेको कष्ट भोग्न परिरहेको मन्त्री पौडेलले उल्लेख गर्नुभयो ।

बन्द,हड्ताल र नाकाबन्दीको कारण अहिले मुलुकको अर्थतन्त्र पुरै शिथिल भएको र आर्थिक क्रियाकलापहरुमा गहिरो संकुचन आएको बताउँनुभयो । पौडेलले आपूर्तिको अवरोधले पुँजी बजार पनि प्रभावित भएको बताउँनुभयो ।
विनाशकारी भूकम्पपछि पुनस्र्थापना र पुननिर्माण अभियान प्रारम्भ नहुँदै भएको नाकाबन्दी र आपूर्तिमा भएको निरन्तर अवरोधले पुननिर्माण अभियान समेत प्रभावित भएको बताउँनुभयो ।  करिब २२ सय कलकारखाना र उद्योगधन्दा बन्द हुँदा २ लाख भन्दा बढी मजदुर बेरोजगार भएको श्वेतपत्रमा उल्लेख छ । तर अर्थमन्त्री पौडेलले नाकाबन्दी र असहज आपूर्तिको अवस्था अन्त्य गर्न र अर्थतन्त्रमा यसले पार्ने असरलाई न्यून पार्न सरकारले स्पष्ट कार्यदिशासहित काम गरिरहेको जानकारी पनि दिनुभयो ।

भारतले अघोषित रुपमा जारी राखेको नाकाबन्दी र तराई मधेसमा जारी आन्दोलनका कारण मुलुकले भोग्नुपरेको नोक्शानी तथा समस्याबारे विस्तृत जानकारी दिन सरकारले श्वेतपत्र  ल्याएको हो । श्वेतपत्र जारी गर्न मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्रालयलाई अनुमति दिएको थियो । नागरिक समाज, नेपाल उद्योग वाणिज्य महासङ्घलगायतका संस्थाले श्वेतपत्र जारी गर्न पटक–पटक सरकारलाई आग्रह गर्दै आएका थिए ।

यसअघि २०६२ ६३को राजनीतिक परिवर्तनपछि तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले पनि मुलुकको अवस्थाबारेमा श्वेतपत्र जारी गर्नुभएको थियो ।

Comments